अन्तर्राष्ट्रिय सीमा पार गर्न खोज्ने मानिसहरूले केही दिनको अन्तरालमा दुईवटा डरलाग्दा विपत्ति खेपे । सीमामा राखिएको बार नाघेर मोरक्कोबाट स्पेनको अधीनमा रहेको उत्तरी अफ्रिकी भूभाग मेलिला पुग्न खोज्दा कम्तीमा २३ जना मानिसको मृत्यु भयो ।
त्यसको तीन दिनपछि अमेरिकाको सान एन्टोनियो सहरमा प्रहरीले बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला पार्याे । कोरोनाभाइरस महामारीका कारण धेरै देशले प्रवेशमा कडाइ गरेपछि विश्वको सबैभन्दा ठूला आप्रवासी मार्गहरूमा यात्रा गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ ।
संयुक्त राष्ट्रसङ्घको आप्रवासनसम्बन्धी निकाय आईओएमले सन् २०१४ देखि अमेरिका वा युरोपेली सङ्घ (ईयू)जस्ता गन्तव्यमा पुग्ने प्रयासको क्रममा झन्डै ५० हजार आप्रवासी मरेको वा बेपत्ता भएको आकलन गरेको छ । मृतक र बेपत्ता मानिसको वास्तविक सङ्ख्या अझै बढी हुनसक्ने ठानिएको छ ।
मध्य भूमध्यसागर
आईओएमका अनुसार आप्रवासीका लागि मध्य भूमध्यसागर संसारकै सबैभन्दा घातक मार्ग हो । सन् २०१४ देखि उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गर्दा १९ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको आकलन गरिएको छ ।
प्रायः केही परिष्कृत रबर डिङ्गीजस्ता डुङ्गामार्फत् धेरै मानिसले सागर पार गर्ने प्रयास गर्छन् । त्यसले गर्दा यात्रा झनै जोखिमपूर्ण हुन्छ र घातक हुने सम्भावना बढ्छ । त्यस्ता डुङ्गाहरू धेरैजसो आपराधिक गिरोह र मानवतस्करहरूले सञ्चालन गर्छन् ।
मध्य भूमध्यसागरको मार्ग हुँदै युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि लिबियाको छेउमा अवस्थित ट्युनेसिया मुख्य प्रस्थानबिन्दु हो । त्यहाँ समुद्रमा डुबेर ज्यान गुमाउने मानिसका लागि आरक्षित चिहान पनि छ । “यहाँ चिहानहरू देख्दा मलाई निकै दुःख लाग्छ”, ट्युनेसियाबाट यात्रा गर्ने आशामा रहेका नाइजेरियाली आप्रवासी विक्कीले भने ।
“यी चिहानहरू देखेपछि अझै समुद्र पार गर्न मलाई मन लाग्छ कि लाग्दैन मलाई थाहा छैन”, उनले भने ।
“मध्य भूमध्यसागरबाट आप्रवासी जाने क्रम जारी छ । संसारको सबैभन्दा खतरनाक समुद्री यात्रा तय गर्ने क्रममा ज्यान जाने मानिसको सङ्ख्या उच्च हुनु चिन्ताको विषय हो । सम्बन्धित राष्ट्रहरूले ठोस कदम नचालेकाले मानिसको ज्यान जाने क्रम जारी छ”, आईओएमका प्रवक्ता सफा मसेहलीले भनिन् । युरोपेली सीमा र तटरक्षक निकाय फ्रन्टेक्सको विवरणअनुसार सन् २०१५ यता झन्डै तीन लाख मानिसलाई त्यहाँबाट उद्धार गरिएको छ ।
अफ्रिकाका भित्री मार्गहरू
उत्तर अफ्रिकी राष्ट्र पुग्न सहारा मरुभूमि पार गर्नुपर्छ । धेरै अफ्रिकी आप्रवासीहरूको युरोप पुग्ने सपना उनीहरूको आफ्नै महाद्वीपको यात्राबाट सुरु हुन्छ ।
त्यसका लागि उनीहरूले प्रायः उत्तर अफ्रिकी देशहरू जान सहारा मरुभूमि पार गर्नुपर्छ । त्यहाँको कठोर पर्यावरणीय अवस्था अर्को ठूलो चुनौतीपूर्ण विषय हो ।
आईओएमले सन् २०१४ देखि २०२२ को बीचमा लगभग पाँच हजार ४०० जनाको मृत्यु मरुभूमि पार गर्ने क्रममा भएको अनुमान गरेको छ । “मरुभूमिमा मानिसको मृत्यु ऊर्जाको अभावले भएको देखिन्छ । केही मानिसको चाहिँ पानी सकिएकाले मृत्यु भयो”, एक आप्रवासी अब्दुल्लाह इब्राहिमले अनुभव सुनाए ।
आप्रवासीहरूका लागि अर्को ठूलो चुनौती उक्त क्षेत्रमा सक्रिय मानव बेचबिखन गर्ने गिरोहहरू हुन् । “यस क्षेत्रका मानवतस्कर र सीमा अधिकारीहरूले गर्ने हिंसाले पनि आप्रवासीले प्रयोग गर्ने मार्गमा पर्ने मरुभूमिमा हुने मृत्युको सङ्ख्या बढाउँछ”, आईओएमले यस विषयसम्बन्धी प्रकाशित नयाँ विवरणमा उल्लेख छ ।
मेक्सिको हुँदै अमेरिका जाने बाटो
यो मार्ग हुँदै अमेरिका पुग्ने मानिसको लक्ष्य त्यहाँ पुग्नु मात्र होइन, अमेरिकामा घरबार गर्नु पनि हो । संयुक्त राज्य अमेरिका र मेक्सिको बीचको सीमामा ठूला चुनौतीहरू छन् । त्यो भेगमा मरुभूमि छ र त्यो मानिसका लागि अनुपयुक्त मानिन्छ । प्रायः आप्रवासीहरू सीमावर्ती रियो ग्रान्डे नदी हुँदै अमेरिका प्रवेश गर्न खोज्छन् ।
यो नदीमा डुब्नु आप्रवासीहरूको ज्यान जाने मुख्य कारणमध्ये एक ठानिन्छ । सन् २०१४ देखि अहिलेसम्म तीन हजार जनाभन्दा बढी मानिसको मृत्यु नदीमा डुबेर भएको आईओएमको अनुमान छ ।
सवारीसाधनमा लुकेर प्राकृतिक खतराबाट जोगिने प्रयास गर्नेहरूले सान एन्टोनियोमा भएको जस्ता घटनाको सामना गर्नुपर्छ । “भर्खरै अमेरिकातिर बसाइँ सर्ने मार्गहरूमा धेरैले ज्यान गुमाउने अन्य घटनाहरू पनि भएका छन्”, आईओएमका प्रवक्ता सफा मसेहली भन्छिन् ।
सन् २०२१ को डिसेम्बरमा मेक्सिकोको सियापासमा ट्रक दुर्घटनामा परेर ५६ आप्रवासीको मृत्यु भयो । ल्याटिन अमेरिकाबाट संयुक्त राज्य अमेरिकामा पस्ने मानिसहरूले सामना गर्नुपर्ने खतराप्रति आईओएम चिन्तित छ ।
एसियाली मार्ग
आईओएमका अनुसार सन् २०२० मा विश्वभरि रहेका १० आप्रवासीमध्ये चार जना एसियामा जन्मिएका हुन् । एसियामै आप्रवासीहरूले प्रयोग गर्ने मुख्य मार्गहरू छन् । एसियामा विगत आठ वर्षमा झन्डै पाँच हजार आप्रवासी मरेका वा बेपत्ता भएका छन् ।
ती मृत्युमध्ये अधिकांश समुद्री मार्गहरू प्रयोग गरेर बङ्गालको खाडी र अन्डमान सागर पार गरेर छिमेकी देश वा युरोप पुग्न प्रयास गर्ने रोहिन्ज्या र बङ्गलादेशी आप्रवासीहरू छन् ।
“हामी भोकाएका थियौँ । पिउने पानी पनि थिएन । खाना थिएन, भात पनि थिएन । एक महिनासम्म समुद्रमा यस्तै भयो”, ३७ वर्षीय मुहम्मद इलियासले भने । उनीहरू चढेको डुङ्गा बिग्रिएपछि भारतीय जलसेनाले उद्धार गरेको यी वृद्ध रोहिन्ज्या शरणार्थीले भने । अन्य मार्गहरूमा जस्तै यस मार्ग प्रयोग गर्ने आप्रवासीहरू पनि मानव बेचबिखन गर्ने गिरोहहरूको हिंसाको सिकार बन्छन् ।
उता इरान र टर्की बीचको सीमा पनि समस्या देखिएको छ । गत वर्ष अगस्टमा तालिबानले सत्ता ओगटेपछि यस मार्गमा अफगान आप्रवासीहरूको घुइँचो बढेको छ ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले २० लाखभन्दा बढी अफगानी नागरिकहरू इरान र वरपरका देशहरूमा शरणार्थीको रूपमा दर्ता भएको जनाएको छ ।