काठमाडौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा ४ अर्ब ३४ करोड राजस्व असुल गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताएको हो ।
बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएको हो । बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।
व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा ५ सय र अधिकतम ३ हजार हुने निर्णय गरेको छ।
जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ ।
दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ ०८:३२