काठमाडौं। नेपाल व्यावसायिक कलाकार संघको २८ औं स्थापना दिवस तथा राष्ट्रिय अरनिको स्मृति दिवस मनाएको छ। शनिवार काठमाडौंको नयाँबजार खुशिबुँ स्थित क्लासिक भेन्युमा आयोजित कार्यक्रममा संघले २८ औं स्थापना दिवस तथा राष्ट्रिय अरनिको स्मृति दिवस मनाएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो वर्षको सुरेन्द्र प्रधान दीर्घ कला–साधना सम्मान पुरस्कार बरिष्ठ कलाकार कृष्ण मानन्धरलाई प्रदान गरेका छन्। उक्त पुरस्कारको राशी २५ हजार रुपियाँ रहेको छ ।
त्यसैगरी यो वर्षको क्रोध कला शिरोमणि पुरस्कार बरिष्ठ कलाकार जुलुमलाल चित्रकारलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २० हजार रुपियाँ रहेको छ। त्यस्तै १५ हजार रुपियाँ राशीको मूल्मी ग्राफिक डिजाइन पुरस्कार गोविन्द थापालाई प्रदान गरिएको छ। त्यस्तै, कार्यक्रममा बरिष्ठ कलाकार हरिप्रसाद बैद्य र कला व्यवसायी कलाकार रामकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।
हेम–गंगा युवा कला प्रतिभा पुरस्कार कलाकार नरेन्द्र मल्ल, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार कलाकार कान्ति घिमिरे न्यौपाने, अमात्य कला पुरस्कार कलाकार तिर्थ निरौला, क्यान सिग्देल आर्ट पुरस्कार कलाकार विजय कुमार कार्की ढली, निर्वाण कला सम्मान कलाकार सुरेश प्रतिक र ज्ञानी शाह क्यान अमूर्त कला सम्मान बरिष्ठ कलाकार गोविन्दलाल सिंह डंगोललाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशी जनही १० हजार रुपियाँको रहेको छ ।
कार्यक्रममा जनही ५ हजार रुपियाँको क्यान आइडियल कला पुरस्कार कलाकार चन्द्रकुमार ताम्राकार र बालकृष्ण स्मृति कला पुरस्कार कलाकार नारायण लामिछानेलाई प्रदान गरिएको थियो।
त्यस्तै, नारायण देवी स्मृति पुरस्कार कलाकार तथा लेखक मुकेश मल्ल र राजेश मानन्धर कार्टुन अवार्ड कलाकार रवि मिश्रलाई प्रदान गरिएको छ। दुवै पुरस्कारको राशी पनि नगद ५ हजार रहेको छ। ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार गंगाधर सारुलाई दिइएको छ। जसको राशी नगद १० हजार रहेको छ। नगद ५ हजारको ऋचा मैनाली रिमाल स्मृति पुरस्कार सिरपा श्रेष्ठलाई प्रदान गरिएको छ। यो बर्षको नगद ३० हजारको क्यान सत्यमोहन अरनिको राष्ट्रिय पुरस्कार साहित्यकार बासुदेव अधिकारीलाई दिइएको छ।
कार्यक्रममा कार्यक्रमका संयोजक प्रेमलाल श्रेष्ठले व्यावसायिक कलाकारहरूको वर्तमान अवस्था तथा उनीहरुको प्रोत्साहनका लागि राज्य र सरकारले गर्नुपर्ने कार्यहरुको वारेमा प्रकाश पारेका थिए। साथमा विभिन्न कलाकारहरुले यसको आवश्यकता र महत्वमा बारेमा उल्लेख गरेका थिए।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ २१:४९