काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर २ हजार २ सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो ।
आज २ सय ५७ वटा कम्पनीका १ करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता शेयर रू ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८ सय ५३ मा कारोबार भएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख पुगेको छ। आज होटल तथा पर्यटन समूहको उपसूचक २३ दशमलव ९२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन् ।
सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २ सय ३७ दशमलव ६१ अंक र जीवन बीमा समूहको उपसूचक १ सय ७८ दशमलव ६७ अंकले बढेको छ ।
नेप्सेका अनुसार बैंकिङ समूह २९ दशमलव २२, विकास बैंक समूह १ सय २४ दशमलव २७, वित्त समूह ४९ दशमलव २४ र जलविद्युत् समूह १ सय २२ दशमलव ६१ अंकले बढेको छ ।
त्यस्तै लगानी समूह १ दशमलव ७६, उत्पादन समूह २ दशमलव २६, लघुवित्त समूह ९ दशमलव ४९, म्युचुअल फन्ड समूह ० दशमलव २६, व्यापार समूह ७५ दशमलव ५८ अंक र अन्य समूह २९ दशमलव ६६ अंकले बढेको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत एक दर्जन कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ३ दशमलव ५७ प्रतिशत घटेको छ ।
आजको कारोबारमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १७ लाख ६८ हजार बराबरको कारोबार भएको छ ।
कारोबार भएको शेयर संख्याका आधारमा न्यादी ग्रुप पावर कम्पनी लिमिटेड अगाडि छ । कम्पनीको ५ लाख ६० हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १६:२६