काठमाडौ । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो ।
जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो उक्त निवेदनमाथिको सुनुवाइमा अदालतले धरौटीमा लिएर थुनामुक्त गर्न भनेको छ ।
पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछानेले जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिएर मात्र उपत्यका छाड्नुपर्नेलगायतको निश्चित आचरणमा बस्नुपर्ने अदालतको आदेशमा छ । आजबाट धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रिया प्रारम्भ हुनेछ ।
गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए ।
लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो ।
लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ ०८:४९