काठमाडौ । महालक्ष्मी विकास बैंककोे २१औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभाकाे अवसरमा आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ ।
सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरिक्षण गर्न जे.बि. राजभण्डारी एण्ड डिविन्स चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।
साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तैगरी सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरेका छन् ।
“सबल बैक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा महालक्ष्मी विकास बैंकले २८ वर्षदेखि अनवरत रुपमा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १६:१४