विक्रम सम्वत् २०२४ सालमा जन्म भइ २०४१ सालमा एसएलसी परीक्षामा बोर्ड थर्ड भएर पूर्वीय तथा पाश्चात्य साहित्यको समालोचना र दर्शनमा ठूलै दक्खल राखी अमेरिकामा सम्पन्न रिलिजियस डाइभर्सिटी नामक अन्तर्राष्ट्रिय सेमिनारमा एक महिनासम्म भाग लिईसक्नु भएका अत्यन्त, सरल, भद्र, सहयोगी प्रतिभाशाली साहित्यिक र दार्शनिक चिन्तनका धनी साथमा अध्यात्म विना जीवन अधुरो रहने सोचका साथ सधैं ध्यानमै रहने र ध्यान विना जीवनको कल्पना समेत गर्न नसकिने विचारलाई पूर्णरुपले ग्रहण गरी यी र यस्ता मानव जीवनसँग सम्बन्धित विषयहरुमा विभिन्न रिसर्च गर्र्दै आएका हाल पाटन क्याम्पसका सह प्राध्यापकका रुपमा कार्यरत शान्त धाख्वासँग नामी साप्ताहिकका विशेष सम्वाददाता प्रज्ज्वल घिमिरेले नेपालको शैक्षिक अवस्थामा केन्द्रित रही लिएको अन्तर्वार्ताको संक्षिप्त अंश यहाँ प्रस्तुत छ ।
एउटा प्राध्यापकको हैसियतले सोच्दा जीवन के हो ?
मान्छे संसारको सबैभन्दा चेतनशील प्राणी हो । अध्यात्म र दर्शन विना मानव जीवन पूर्णरुपले अधुरो हुन्छ । तर दुखका साथ भन्नु पर्छ अहिले मानिसहरु केवल भौतिकतामा मात्र आफूलाई केन्द्रित गर्न चाहन्छन् । यस्तो विचार मानिसहरुमा आउनुमा विशेषगरी पश्चिमी सोच नै जिम्मेवार छ । स्वामी सच्चिदानन्दको चेतनालाई विर्सनु नै आध्यात्मिक चेतनाको बाधक हो । पश्चिमी शिक्षा केवल भौतिक रुपमा आनन्दित हुने साधन मात्र हो । तर पूर्वीय शिक्षाले आध्यात्मिक सुख दिन्छ । जसले सबैलाई मानवीय चेतनातर्फ अग्रसर गराउँछ । जीवनको व्याख्या पूर्वीय दर्शनलाई मात्र मनन गर्दा वास्तविक अर्थ बुझ्न सकिन्छ ।
एउटा प्राध्यापकले वास्तवमा जीवनमा के चाहन्छ ?
प्राध्यापकले दक्ष र क्षमतावान नयाँ पुस्ता बनाउँनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले प्राध्यापकको पेशा भनेको मुलुककै लागि अत्यन्त महत्वपूर्ण पेशा हो । प्राध्यापकले आफ्ना विद्यार्थीहरु आफूभन्दा बढी प्रगतीशील क्षमतावान र दक्ष होस् भन्ने चाहना राखेको हुन्छ ।
अहिले नेपालमा प्राध्यापकहरुका लागि जीविकोपार्जन गर्न सजिलो छ ?
दुखका साथ भन्नु पर्छ अहिले नेपालमा प्राध्यापन पेशा अत्यन्त दुखदायी भएर गएको छ । अझ प्रष्टसँग भन्दा प्राध्यापकहरु अहिले भिखारी जस्तो देखिन्छन् । यो एउटा ठूलो विडम्वना हो । किनकि प्राध्यापक विना आधुनिक समाजको विकास हुनै सक्दैन । नपढी नबुझिकन संसारको कुनैपनि विकसित मुलुकका नागरिकहरु आ–आफ्नो मुलुकप्रति उत्तरदायी, जवाफदेही र चेतनशील भएको इतिहास कहिँ कतै पाइँदैन । तर जसले मुलुकको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हैसियत राख्दछ उसैको सम्मान नेपालमा भएको पाइँदैन । प्राचिनकालमा गुरुको सम्मान जसरी हुन्थ्यो अहिले त्यसको ठीक विपरित अवस्था छ । त्यसैले अहिले प्राध्यापन पेशामा जागीरे प्रवृतिको विकास मौलाउँदै गएको छ । जसका कारण प्राध्यापकहरु प्नि आफ्नो उत्तरदायित्व विर्सदै विकृत परिस्थितिका कारणले आफ्नो पेशालाई भात खाने मेलो बनाउँन बाध्य भएका छन् ।
त्यसो भए तपाईँ नेपालको शैक्षिक स्थितिबाट सन्तुष्ट हुनुहुन्न ?
नेपालको मात्र होइन, विश्वकै शैक्षिक अवस्थाबाट म सन्तुष्ट छैन । किनभने आधुनिक शिक्षा भनेको बुर्जुवा शिक्षा हो । जुन शिक्षाले मानिसको वास्तविकताबाट मानिसलाई धेरै टाढा राख्छ । उत्पादनको बृद्धि गर्नुको सट्टा पूँजीपतिको लागि दास उत्पादन गर्ने थलो भएको छ आजकलका युनिभर्सिटीहरु ।
तपाईँको विचार र व्यक्तित्व एकदम चाखलाग्दो छ अझ यसलाई प्रष्ट पारि दिनुस् त ?
म नव समाजवादको अभियन्ता हुँ । जसले समाजका पुरातन सोचलाई रुपान्तरण गर्न क्रान्तिको आवश्यकतालाई महसूस गरी एउटा नयाँ समाजको प्रादुर्भावमा विश्वास राख्दछ । नागरिकहरु केवल समान मात्र नभई चेतनाको स्तर पूर्ण रुपले प्राप्त गरी सबैको जीवन सुधार्न सक्रिय हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
भनेपछि नेपालको शैक्षिक स्थितिलाई पूर्णरुपले परिवर्तन गरी सुधार गर्नुपर्छ भन्ने सोच हो तपाइँको ?
नेपालका शैक्षिक माफियाहरु केवल शिक्षाका ठेकेदार मात्रै हुन् । उनीहरुको उद्देश्य आफूले लगानी गरेको पूँजीबाट नाफा कमाउनु मात्रै हो। यस्ता ठेकेदारहरुले नेपालको भविष्य दिनानुदिन वर्वाद गर्दैछन्। त्यसैले नेपालको शैक्षिक अवस्थालाई पूर्णरुपले सुधार्नु पर्छ भन्ने मेरो धारणा हो ।
नेपालको शैक्षिक अवस्थालाई अब कसरी सुधार्न सकिन्छ त ?
कुनैपनि देशको प्रगति त्यो देशको शिक्षाको गुणस्तरमा भर पर्दछ । जसको पुष्टि विकसित देशहरुको इतिहासले गरिसकेको छ । त्यसैले नेपालमा पनि गुणस्तरीय शिक्षाको समान रुपले सबै वर्गको पहुँचमा पुर्याउन सक्नुपर्दछ । शिक्षालाई हुनेखानेको मात्र होइन सबैको सम्पत्ति बनाउन सक्यो भने नेपालको शैक्षिक स्थितिलाई पूर्ण रुपले सुधार्न सकिन्छ ।
- नामी साप्ताहिक