बसन्तराज कुँवर नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा नै चर्चित व्यक्ति हुन् । नेपाल प्रहरीमा षड्यन्त्रमूलक ढङ्गले कुँवरलाई नेतृत्वले हटाएपनि ती हटाउने नेतृत्वभन्दा समाजमा कुँवरको नाम वढी चर्चित र लोकप्रिय छ ।
नेपाल प्रहरीवाट अवकास पश्चात कुँवरले लागूऔषध नियन्त्रण क्षेत्रमा दिएको योगदान नेपालका राष्ट्रपतिदेखि साधारण जनतासम्मलाई जानकारी छ । नार्कोनन् नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व बरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवर पूर्वप्रहरी संगठनका राष्ट्रिय अध्यक्षमा तीन कार्यकाल निर्विरोध निर्वाचित र अनुमोदित भइसकेका कुँवर पूर्वप्रहरी समाजमा पनि उत्तिकै लोकप्रिय छन् ।
विशेषतः तल्ला दर्जाहरुसँग मिलेर काम गर्ने र तल्ला दर्जाका लागि माथिल्ला दर्जाहरुसँग लडेर न्याय दिलाउन खोज्ने उनको जुझारुपन पूर्वप्रहरी संगठनमा चर्चाको विषय हुने गरेको छ । सुरक्षा क्षेत्रमा समेत बिशेष अनुभव र विशेषज्ञता हाँसिल गरिसकेका कुँवरसँग नामी साप्ताहिकले गरेको कुराकानी :
आजकल के मा व्यस्त हुनुहुन्छ ?
मैले आफूले गर्दै आएका कामहरु, नार्कोनन् रिह्याव रेखदेख गर्नु, दक्षिण एसियामा यसका शाखाहरु विस्तार गर्नु, पूर्वप्रहरी संग्ठनलाई केही समय दिनु र अधिकांश समय देशका नगर/गाउँपालिकाहरुलाई लागूऔषध मूक्त बनाउने योजना लागू गर्नुमा नै मेरो समय वितिरहेको छ । समय टाईट छ । यस बाहेक हरेक दिनजसो म कुनै न कुनै स्कुल कलेज वा समुदायमा ड्रग्स विरुद्धको शिक्षा दिन पुगेको हुन्छु । कोरोना पश्चात अन्तर्राष्ट्रिय मुभमेन्टमा थोरै रेस्टिक्सन आयो नत्र मैले अझ धेरै अन्तर्राष्ट्रमा पनि थुप्रै समय दिनुपर्ने हुन्छ । जीवन व्यस्त छ । अझ अवकास पछिको जीवन रोमाञ्चक भएको छ ।
राजनीति तिरको झुकाव के छ ?
मैले यी पूराना दलहरुबाट देश बन्दैन भनेर पूर्वकर्मचारीहरुको नेपाल पूर्वराष्ट्रसेवक पार्टी नामक अलग्गै दल खोली ६५ जिल्लामा शाखा पनि खोलेकै हुँ । त्यो सही समयमा खोलिएको सही दल थियो । म आफू त्यसको नेतृत्व लिन चाहन्न थिएँ किनकी मलाई सामाजिक सेवाको क्षेत्र नै मनपर्छ । मैले त्यो दलका नेतृत्व लिई दिनका लागि प्रधान सेनापति, प्रधान न्यायाधिश, मुख्य न्यायाधिस लगायत समाजमा चिनिने गरेका धेरै पूर्वकर्मचारीसँग कुरा गरेँ ।
तर, प्राय कर्मचारी त्यसमा पनि ठूलो दर्जामा पुगेकाहरुसँग जनतामा आफैँ नेतृत्व लिएर जाने आँट देखिएन । फेरि प्रहरीमा त बहालवाला आईजिपि समेतले हाम्रो कामको विरोध गरेको पाईयो । जसवाट मलाई यस्तो लाग्यो ति आईजिपिहरु नै कुनै पूराना दलका क्याडर हुन् । जसले गर्दा हामीले त्यस दललाई सोचे अनुसार चलाउन सकेनौ ।
त्यो हाम्रो प्रयासले एक चेतना भने ल्यायो र आजको दिनमा धेरै पूर्व प्रहरीहरुले आफै पार्टी खोली वा अरुको दलमा लागि जनतामा जाने हिम्मत गरे । यी सवै उपलब्धीहरु त्यही हाम्रो प्रयासको प्रतिफल हो भन्ने मलाई लागेको छ । म आफूभने राजनिीतिमा लाग्दिन । तर, पूर्वप्रहरीहरु जहाँ निर्वाचनमा खडा हुन्छन् । त्यहा वर्गिय हिसावले म साथ दिनेछु ।
हालै नयाँ गृहमन्त्री रवि लामिछाने हुनुभएको छ । उहाँसँग तपाईँको चिनजान राम्रो नै छ । उहाँलाई तपाईको सल्लाह के छ ?
मानिस जतिसुकै दक्ष, योज्ञ वा पढेलेखेको किन नहुन् ? नियतमा खोट छ भने ती व्यक्ति देश समाज र समूहका लागि घातक नै हुन्छन् । राम्रो कुरा यो छ कि रवि लामिछानेको नियत राम्रो छ । उहाँको नियतमा खोट छैन । रह्यो जिम्मेवारी प्राप्त क्षेत्रमा सफल हुने कुरो यसका लागि उहाँले KRC भन्ने फर्मूला अनुसरण गरी काम गर्नु पर्दछ । K भनेको Knowledge हो अर्थात सर्वप्रथम उहाँले त्यस मन्त्रालय र मन्त्रीको काम सम्पूर्ण रुपमा बुझ्नु पर्दछ ।
दोश्रो R भन्नाले Responsibility हो । उहाँ पूर्णरुपमा जिम्मेवारी लिई खटिनु पर्दछ र तेश्रो आफ्नो कार्यालय र वातावरणमाथि पूर्ण नियन्त्रण राख्नु पर्छ। जसलाई C अर्थात Control भनेको छु । तर, यदि मन्त्रीमा आफ्नो कामको सही ज्ञान नै छैन भने उहाँले आफ्नो मन्त्रालयको न जिम्मा लिन सक्नुहुन्छ न नियन्त्रणभित्र राख्न सक्नुहुन्छ । धेरै गृहमन्त्री देखियो । जो राम्रो मन्त्रालय भनि गृहमा आए । राम्रो भन्नाले पैसा हुने, शान हुने, शक्ति हुने मानिन्छ । कति गृहमन्त्रीहरु आफ्नो पार्टी सञ्चालनमा आर्थिक र सांगठनिक शक्ति प्राप्त गर्न त्यो पदमा आएको देखियो ।
अझ कति त आफ्नो पार्टीलाई चुनावमा जिताउन त्यस मन्त्रालयमा आएको पनि देखियो । त्यस्ता मन्त्रीवाट देश, समाज र फौजले बदनामी र शोषण बाहेक अरु केही पाउने कुरै भएन । यसअघि मैले देखेका वा भोगेका अधिकांश मन्त्रीहरुमाथि उल्लेख गरेका गलत उद्देश्यकासाथ त्यस पदमा आएको देखेँ । मैले विसं. २०४६ सालपछि हाल रवि लामिछानेको रुपमा पहिलो गृहमन्त्री देखेँ–जो समाजलाई सुरक्षित गर्ने र जनतालाई अन्यायबाट जोगाउने असल मनसायले त्यस जिम्मेवारीमा आउनु भएको छ । उहाँको अनुभव नहोला तर, नियत राम्रो छ । हामीले उहाँलाई साथ दिनु पर्दछ ।
हरेक मन्त्री/प्रधानमन्त्री पदमा आउँदा यो गर्छु , त्यो गर्छु भनि ठूला–ठूला कुरा गर्ने तर पछि केही गर्न नसक्ने देखिँदै आएको छ । हालका गृहमन्त्रीले यसमा के विचार पुर्याउनु पर्दछ ?
जव कोही नेता वा प्रशासकले म यो गर्छु , वा त्यो गर्छु भनि बोल्नुहुन्छ तव उहाँहरुलाई आफूले भनेको काम कसरी गर्नु पर्दछ ? भन्ने पनि स्पष्ट रुपमा थाहा हुनुपर्दछ । यहाँ समस्या के छ भने, असल नियतले नै किन नहोस् केही गर्छु भनि सार्वजनिक गरिदिने तर, त्यो काम कसरी गर्ने भन्ने बारेमा चाहिँ होमवर्क केही नहुने । यो अवस्था खतरनाक हुन्छ । एउटा उदाहरण लिउँ–कसैले म भ्रष्टाचार नियन्त्रण गर्छु भन्छ भने त्यो कुरा त हिजोकाले पनि बोलेकै थिए । तर काम भएन । काम नहुनुको कारण कर्मचारी र पदाधिकारी त हिजोको नै हुन्छन् । हिजो कुनै कर्मचारी भ्रष्ट थिए भने भोलि मन्त्री फेरिँदैमा उनी नैतिक हुन्छन् र ? उनी केवल मौका कुरिरहेका हुन्छन् । कुनै पनि मन्त्री वा परिवर्तन गर्न चाहने अधिकारी संधै त्यो पदमा हुँदैनन् । उनीहरु हट्ने वित्तिकै बदमासी गर्नेहरुले पूनः बदमासी गर्नेछन् ।
यसको मतलव केवल बोलेर मात्र हुँदैन । ती कर्मचारी वा व्यक्तिको नियत मा परिवर्तन ल्याउन सक्नुपर्छ वा यस्तो अवस्था सिर्जना गर्नुपर्छ जहाँ उनीहरुले बदमासी गर्ने अवसर नै नपाउन । यि दुवै कामका लागि गहिरो होमवर्क र कार्यक्रम चाहिन्छ । अतः हालका गृहमन्त्रीलाई मेरो दुईवटा सल्लाह छ–पहिलो कुनै पनि कुरा बोली नहालौँ र दोश्रो बोल्नु पर्ने कुराहरु होमवर्क गरेर मात्र बोलौँ । यसमा उहाँले आफ्ना सल्लाहकार समूह छुट्टै बनाउनु पर्छ ।
हिजोका गृहमन्त्रीसँग काम गरेका कर्मचारीहरुबाट यदि आज अलग ढङ्गको रिजल्ट खोजिएको हो भने, त्यो कुरा केवल बोलेर प्राप्त गर्न सकिन्न र बल्की धेरै प्रशिक्षण र अनुगमनका नयाँ नयाँ मोडलहरु तयार गरेर मात्र गर्न सकिन्छ । हो यसैका लागि गृहमन्त्रीलाई मेरो अनुरोध छ कि–तपाइँ आफ्ना नजिकमा दक्ष सल्लाहकारहरुको टिम राख्नुहोस् र तिनका कुरा मान्नुहोस् । केवल पुराना सरकारी कर्मचारी र राजनैतिक दलबाट आएका अल्पज्ञानी साथीहरुको सल्लाहबाट मात्र यस्तो लक्ष्य हाँसिल गर्न सकिँदैन ।
हालका गृह मन्त्रीले निर्मला हत्याकाण्ड पत्ता लगाउँछु भन्नुभएको छ यसमा के हुन्छ ? अव पत्ता लाग्छ त ?
मलाई यो काम पनि मन्त्रीज्यूले हतारमा बोल्नु भयो कि भन्ने लागेको छ । म सल्लाहकार भएको भए उहाँलाई यति छिट्टे यस विषयमा बोली हाल्न सल्लाह दिन्नँ थिए । बरु, सम्पूर्ण बिषयगत ज्ञान हासिल गरेपछि मात्र यस बिषयमा अघि बढ्न सल्लाह सुझाव दिन्थेँ । जहाँसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउने कुरा छ-यसमा हिजोका प्रहरीहरुले पनि सिरियसली नै काम गरेका हुन् । जुन प्रहरीहरु मध्ये केही अहिले पनि अनुसन्धानमा संलग्न छन् । मलाई डिएस्पी अंकुर जीसी जस्तो लाग्छ, उनले गरेको अनुसन्धानमा पनि सत्यता भएझैँ लाग्छ । यो केसमा दुईमध्ये एक कुरा भएको छ ।
या त अंकुर जस्ता अफिसरले दिएको सत्यलाई हामी स्थानिय दवाव र प्रेसरका कारण मानिरहेका छैनौ र गल्ती गरिरहेका छौँ, या त हामीले सही अपराधी पत्तै लगाउन सकेका छैनौ तर, मलाई यो घटनामा कुनै ठूला बडाका सन्तान संलग्न भएकाले प्रहरीले लुकाएको हो भन्नेमा विश्वास छैन् । किनकि आफ्नै जागिर धरापमा राखेर राज्य र अन्तर्राष्ट्रको चासो भएको केसलाई प्रहरीले लुकाउँछ जस्तो मलाई लाग्दैन । त्यसैले हिजोकै प्रहरीहरु लगाएर नयाँ नतिजा निस्केला जस्तो मलाई लाग्दैन । किनकि यो केसमा सबैले हिजो पनि सिरियसली नै कार्य गरेका थिए । अनुसन्धान भन्ने कुरा विज्ञान जस्तो हुँदैन । कतिपय केसमा केही समय लाग्न सक्छ । तर, गृहमन्त्रीले राखेको चासो असल नियत कै देखिन्छ ।
प्रसंग बदलौँ । नेपाल पूर्व प्रहरी संगठनको हालखवर के छ ?
यस संगठनले देशभरी शाखा खोलेर सम्पूर्ण पूर्व प्रहरीहरुलाई भेला हुने जोडिने एउटा प्लेटफर्म दिएको छ । यो साधारण कुरा होइन । नेपाल पूर्व प्रहरी संगठन नहुँदो हो त देशभरिका पूर्व प्रहरीहरु भेला हुने थलो पनि हुने थिएन । आज हरेक जिल्ला, हरेक प्रदेश र दर्जनौँ स्थानिय निकायहरुमा नेपाल पूर्वप्रहरी संगठनको आधिकारीक शाखा रहेको छ । संगठनले प्रमाणपत्र समेत लिएर संगठनको झण्डा, डण्डा, छाप प्रयोग गरी हजारौँ संख्यामा उपस्थित भई सामाजिक र कल्याणकारी कार्य गर्दै आएका छन् ।
यस संगठनमा ९४ प्रतिशत तल्ला (सई भन्दा मूनी) दर्जाका पूर्व प्रहरी सदस्यहरु छन् । जसको हित गर्नु यो संगठनको प्रमुख उद्देश्य हो । माथिल्ला दर्जालाई शिक्षा, स्वास्थ्य, वा कल्याणका लागि नेपाल पूर्वप्रहरी संगठन आवश्यक नहोला तर, तल्ला दर्जाका लागि यो संगठन ठूलो अर्थ राख्दछ । नेपालमा नेपाल पूर्व प्रहरी संगठन मात्र यस्तो गैह्रसरकारी संस्था हो-जसको शाखा देशभर छ । र यो संस्था व्यवसायिक र दक्ष व्यक्तिहरुले भरिएको छ । हामी देशभर विभिन्न तहमा चुनिएर आएका पदाधिकारीहरु आफ्नो संगठनप्रति गौरव गर्दछौँ र यसको विकासका लागि समर्पित रहेका छौँ ।
पूर्वप्रहरीहरु दुई वटा छन् एउटै बनाउनु पर्याे भन्ने चर्चा खुुब चल्थ्यो नि ? आजकल के छ ?
यसमा नेपाल पूर्व प्रहरी संगठनलाई कुनै रुची छैन । अहिले प्रदेश १ तिर पूर्व प्रहरी परिवार भन्ने पनि खोल्न लागिएको छ रे भनेर सुनिएको छ । त्यसै गरी पश्चिममा पनि कुनै समूहले पूर्व प्रहरीका नाममा कुनै संस्था दर्ता गर्दै छन् रे भन्ने पनि जानकारीमा आएको छ । प्रजातन्त्रमा कानुन बमोजिम ११ जना भै सिडिओ कार्यालय गइ संस्था दर्ता गर्न सकिन्छ । कसले कहाँ गएर संस्था दर्ता गर्छन ? तिनका पछाडि हामी लागेर साध्य हुँदैन । नयाँ खोलेर पूर्व प्रहरी समूहलाई संगठनले भन्दा राम्रो सेवा दिन्छु भन्नेलाई हामी शुभकामना भन्छौँ । उहाँहरुले गरेको असल कामहरु सिक्न हामी पनि जानेछौँ तर, देशमा कसलाई कहाँ के चित्त बुझ्दैन र संस्था खोल्छन् उहाँहरुसँग एकता गर्ने भन्दै हामी आफ्नो संगठनलाई कमजोर र अस्थिर पार्न चाँहदैनौ ।
चित्त नबुझाउनेहरुले अलग राजनैतिक दल, अलग धार्मिक समूह, अलग जातिय संस्था, खोलेकै देखिन्छ । पूर्व प्रहरीमा पनि यो हुनु वा देखिनु स्वभाविक नै हो । हामी २०४७ मा दर्ता भएको नेपाल पूर्वप्रहरी संगठनको सिपाहीँ हौँ र यसकै लागि काम गछौँ । नयाँ–नयाँ खुलेकाहरुलाई गाली गर्नतिर लाग्दैनौ बरु, सफलताको शुभकामना दिन्छौँ । तिनका विरोध गर्नमा समय खर्च पनि गर्दैनौँ । किनकी हाम्रो उद्देश्य नेपाल पूर्व प्रहरी संगठनको उद्देश्य प्राप्तिका लागि काम गर्ने हो । जो हामीसँग जोडिन चाहानुहुन्छ, उहाँहरु पहिला हाम्रो संगठनको आजिवन सदस्य हुनुहुनेछ र जो पदाधिकारी हुन चाहानु हुन्छ उहाँहरुले संगठनमा योगदान दिएर मात्र त्यो अवसर पाउनु हुनेछ ।
पुराना पदका आधारमा यो संगठनमा पदाधिकारी वा उच्च तहमा जाने सम्भावना रहँदैन । रह्यो कुरा पूर्व प्रहरी संगठनसँग चित्त नबुझी अलग संस्था खोली सेवा गर्छु भनी कोही आउनु भएको छ भने उहाँहरुलाई हामी दुश्मन मान्दैनौ । नेपालमा संघीय शासन आएपछि ७ सय ५३ वटा त स्थानिय सरकार नै भैसकेका छन् । नेपाल पूर्वप्रहरी संगठनले देशभरीको पूर्वप्रहरीहरुलाई जोडिने थलो दिन सक्छ तर देशभरीका संगठनलाई श्रोत साधन दिन सक्तैन ।
स्थानिय तहमा सहयोग लिएर कुनै नयाँ संस्थाहरुले राम्रोसँग पूर्व प्रहरीहरुको हित गर्न सक्छन् भने नेपाल पूर्वप्रहरी संगठनले तिनको विरोध गरिरहनु पर्ने कुनै कारण पनि छैन् । अलग खुलेकाहरुसँग एकिकरणका नाममा झन् आफ्नो संगठन भत्काउने, विर्गाने वा पूर्नसंरचना गर्ने काम हाम्रो संगठनले गर्दैन । जसले खोलेको उसले या त चलाउने छन् या त बन्द गर्नेछन् । त्यो उहाँहरुको समस्यामा नेपाल पूर्व प्रहरी संगठन पर्न चाहँदैन । यसको अन्त्य पनि हुदैन । एउटालाई मिलाउँदा भोलि अर्को खुल्न सक्छ । त्यो बाटोमा हामी जाँदैनौ ।
के पूर्व प्रहरी संगठनले कुनै नयाँ परियोजना ल्याउँदै छ ?
हामीलाई देशमा आधुनिक ड्राईभिङ स्कूल नभएकोमा चिन्ता छ । त्यसैले हामी ७ प्रदेशमा नै यस्तो बहुउद्देश्यीय तालिम केन्द्र बनाउने लक्ष्यकासाथ अघि बढेको छौँ । जुन तालिम केन्द्रभित्र छिरेपछि ड्राईभिङ, व्रिज, सेक्युरिटी कोर्ष एकै स्थानमा लिन पाईयोस् । यसका लागि कम्तिमा करिब ३ विगाहा जमिन आवश्यक पर्ने छ । हामीले यसको डिटेल योजना गरिसकेका छौँ र प्रहरी कल्याण कोषको सहयोग माग गर्नेछौँ । पहिला कुनै एक प्रदेशमा पाईलट प्रोजेक्ट चलाउने छौँ र क्रमश ७ वटै प्रदेशमा विस्तार गर्ने छौँ । अहिले म यही परियोजनामा काम गर्दैछु ।
प्रहरी कल्याण कोषको व्यवस्थापनसँग त तपाईहरुको असहमति छ होईन र ?
हो । पहिलो कुरो प्रहरी कल्याण कोषमा अन्दाजी ५० प्रतिशत रकम पूर्व भएकाहरुले हालेका छन् । १०० प्रतिशत सञ्चालन हक बहालका प्रहरीहरुमा मात्र छ । यो न्यायोचित छैन । दोश्रो कुरो कल्याण कोषको कुल रकमको जति व्याज आदिबाट बढ्ता हुन्छ । त्यसको ४० प्रतिशत पूर्व प्रहरीको हितमा खर्च हुनु पर्दछ भन्ने हाम्रो आवाज छ । यो पनि भएको छैन ।
तेश्रो कुरो कल्याण समितिको अध्यक्ष पूर्वप्रहरीबाट हुनु पर्दछ भन्ने पनि हाम्रो माग छ । चौथो कल्याणकोषको रकम हालको भन्दा ४ गुणा वढी हुनुपर्थ्याे, कहाँ र कहिले अनि कसरी चुहावट भयो ? त्यसको पनि छानविन हुनु पर्दछ भन्ने पनि हाम्रो माग छ । यस विषयमा पत्र पठाउँदा पनि प्रहरी मुख्यालयबाट हाम्रो अनुरोध स्वीकार गरिएको छैन । हो यिनै कुरामा पूर्वप्रहरी संगठन खुशी छैन । एक न एक दिन यी सबै कामहरु हामी गराएरै छोड्ने छौँ ।
हामीले यी बिषयहरुमा आवाज उठाए तपाईँहरुको संगठन दुई वटा छ, चार वटा छ जोडेर आउनुहोस् भनेर प्रहरी प्रधान कार्यालय पन्छन खोजको देखिन्छ । दुई वटा वा चार वटा संगठन जोडिनु वा नजोडिनुसँग हाम्रा मागको कुनै अर्थ छैन । हाम्रा माग सिधा छन् कि प्रहरी कल्याण कोषमा ५० प्रतिशत रकम पूर्वहरुले दिएका हुँदा त्यसै अनुरुपको कोष माथिको नियन्त्रण वा उपभोगमा पूर्व प्रहरीको हक, अधिकार र हिस्सा हुनुपर्दछ । प्रहरी मुख्यालयले यो कुरा नबुझेको होईन । कोषको संचालनमा आफ्नो मात्र अधिकार जमाईराख्न यही दुई वटा छ र चार वटा छ भन्ने बेतुकको तर्क दिन खोजेको देखिन्छ । तर उचित सुनुवाई नभए यो विषयलाई अदालतमा प्रवेश गराईने छ । यो लडाई हज्जारौँ तल्ला पूर्व प्रहरीको हितका लागि जरुरी छ ।
तपाईँ पछिको नेपाल पूर्व प्रहरी संगठनको नेतृत्वमा को आउनु हुनेछ ?
यो कुरा तीन तरिकाबाट थाहा हुन्छ । पहिलो विधानले त्यो पदमा जान योग्य ठहराएका साथीहरुमध्ये जसले देशभर आफूलाई म त्यो पदमा पुग्न पाएमा अहिलेको भन्दा धेरै राम्रो गर्न सक्नेछु भनी विश्वास दिलाउन सक्नुहुनेछ उहाँहरु म पछिको नेतृृत्व लिन सम्भावित उम्मेदवार हुन सक्नुहुनेछ । यस्तो व्यक्तिले देशका सबै स्थानमा पुगी पूर्व प्रहरीहरुलाई हौसला, योजना र श्रोत दिन सक्नुपर्नेछ । जो व्यक्ति यस प्रकृयाबाट आगामी महाधिवेसनको चुनावमा खडा भएर जित निकाल्न दृढ हुनुहुन्छ । उहाँहरुले देशभरका महासम्मेलनका पदाधिकारीहरुसँग जोडिनु पर्ने हुन्छ । त्यस्तो जोडिन सक्ने व्यक्ति म पछिको नेपाल पूर्व प्रहरी संगठनको अध्यक्ष हुन सक्नुहुनेछ ।
दोश्रो कुनै व्यक्ति वा पदाधिकारी को क्षमताको उच्च कदर गर्दै देशभरका पदाधिकारीहरुले फलानो व्यक्तिको नेतृत्व नेपाल पूर्वप्रहरी संगठनलाई आवश्यक छ भनी लिखित रुपमा वा मौखिक रुपमा भनेर जिल्ला, प्रदेश, तथा केन्द्रिय तहबाट सिफारिस गरिएमा र त्यस्ता व्यक्तिको विरुद्धमा अरु कसैले उमेद्वारी नदिई सर्वसम्मत गराईएमा पनि म पछिको नेतृत्व तय हुने अवस्था रहन्छ ।
विधानमा यो पनि व्यवस्था छ कि यदि मौजुदा पदाधिकारीहरुमा कोही पनि केन्द्रिय अध्यक्षका लागि योग्य छैनन् भन्ने केन्द्रिय कार्य समितिलाई लागेमा केन्द्रिय कार्य समितिले बाहिरका कुनै यो पदमा लैजान योग्य पूर्वप्रहरीलाई सर्वप्रथम केन्द्रिय पदाधिकारीमा मनोनित गरि ल्याउने छ । र केन्द्रिय कार्य समितिको दुई तिहाईले यि व्यक्ति संगठनका लागि अपरिहार्य र उत्पादक भएकाले निजलाई केन्द्रिय अध्यक्षको पदमा खडा हुने अधिकार प्रदान गर्नु पर्छ भनि चुनावमा उठ्ने अधिकार प्रदान गर्नेछ । तर, माथि तिनै अवस्थामा केन्द्रिय अध्यक्ष हुनका लागि महाधिवेसनको चुनाव भने फेस गर्नु नै पर्नेछ ।
माथिका तीन उपाय बाहेक पूर्व पदका आधारमा कोही सिधै नेपाल पूर्वप्रहरी संगठनको स्थानिय ईकाईदेखि केन्द्रसम्मको अध्यक्ष हुन सम्भव छैन । नेपाल पूर्वप्रहरी संगठनमा म पछिको केन्द्रिय अध्यक्ष हुने छन् भन्ने कुरा त्यही समयले माथिका आधारमा तय गर्नेछ । म पनि म पछिको नेतृत्व म भन्दा काविल व्यक्तिको हातमा जाओस् भन्ने कुरामा सर्तक छु । आफूले नेतृत्व गरेको संगठनलाई जोगाउन, प्रेरणा दिन, रक्षा गर्न र सक्रिय बनाउन नसक्नेको हातमा नेतृत्व हस्तान्तरण गर्न कुनै पनि अध्यक्ष सजिलै तयार हुँदैनन् । किनकी तिनमा संगठनको जिम्मेवारी बोध हुन्छ ।
तपाईँ आफू पछिको नेतृत्व बिकास कसरी गर्दै हुनुहुन्छ ?
जसरी स्व. डिवि लामाले आफूपछि कसलाई नेतृत्व दिने हो भनी केही बर्ष अघिबाटै खोज सुरु गर्नु भएको थियो । र म पनि उहाँकै खोजमा थिएँ । यसैगरी मैले पनि भावी नेतृत्व खोजिरहेको छु । सम्भावित पदाधिकारीहरुको क्षमता जाँच गरिरहेको छु । र उहाँहरुलाई जिम्मेवारी दिएर नतिजा र सक्रियता हेरिरहेको छु । मैले तीन कार्यकाल (दुई कार्यकाल महाधिवेसनबाट चुनावमा सर्वसम्मत विजयी भई र आधा कार्यकाल स्व. लामा सावको बाँकी समय) को जिम्मेवारी लिईसकेको हुँदा अव नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व पनि हो । यसका लागि नेतृत्व विकास गर्नु पनि मेरो कर्तव्य हो ।
म आफूपछि कसको काँधमा यो संगठन सुरक्षित र सवल होला भनी भित्रका पदाधिकारीहरु र बाहिरबाट मनोनितका रुपमा भित्राईएका पदाधिकारीज्यूहरुको क्षमता मूल्याङ्कन गरिरहेको छु । भोलि यदि हामी सबै असक्षम देखियौँ भने हुन सक्छ । केन्द्रिय कार्य समितिले बाहिर बसेका पूर्वप्रहरी साथीहरुलाई घरमै गएर बोलाई विधानको बाटोबाट केन्द्रिय अध्यक्षमा लैजान पनि सक्छ । ती व्यक्तिहरुले पूर्वप्रहरी संगठन र गरिब प्रहरीहरुको हितमा के योगदान दिए ? वा दिएका छन् ? भन्ने कुराको भने गहिरोसँग मूल्याङ्कन हुनेछ । विना लगानी, विना योगदान र विना समर्पण कोही पनि केन्द्रिय अध्यक्ष पदमा जान सम्भव छैन ।
हरेक केन्द्रिय अध्यक्ष हुन्छु भन्नेले आफूलाई नेपालका सबै पदाधिकारी (जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रिय सदस्य) हरुको मन जित्नु पर्दछ। यो मानिसको काँधमा संगठन दिँदा उहाँले यस संगठनको रक्षा, विस्तार र विकाश गर्न सक्नु हुन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ । यस्तो भएन भने पूरानै नेतृत्वहरु बारम्बार दोहोरिन पछि सक्छन् र राजनीतिमा पनि हामीले यो कुरा देखिरहेका छौँ । नकारात्मक सोचका, ध्वंसात्मक प्रकृतिका, खाली आलोचना गर्न जानेका तर, उत्पादन गर्न नजानेका, दुष्टहरु भने कुनै पनि संगठनको नेतृत्वमा पुग्नु हुँदैन । नत्र त्यो संगठन बर्बाद हुन्छ । क्षमता बढाउन सकिन्छ तर कुनियत सफा गर्न सकिन्न ।
पूर्व प्रहरी संगठनको नेतृत्वमा सकारात्मक सोच भएका र कुनै क्षेत्रमा सफल भएका मानिसहरु पुग्नु पर्दछ भन्ने मेरो मान्यता छ । र त्यस्तै व्यक्तिहरुलाई मेरो साथ हुनेछ । नेपाल पूर्वप्रहरी संगठनलाई आलोचकहरु चाहिएको छैन, यसलाई रचनात्मक, आर्थिक, प्राविधिक,साँगठनिक र कल्याणका क्षेत्रमा नयाँ-नयाँ योजना श्रोत, साधन र साथ दिने मानिस चाहिएको छ । यस्तै व्यक्तिलाई नेतृत्वमा लैजान मेरो प्रयास हुनेछ ।
अन्तमा केही भन्नु छ ?
अवकाश पछिको जीवनकाल धेरै नुहुन पनि सक्छ अतः देश, समाज र आफ्ना वर्गका लागि असल काम गर्न नचुकौँ । खुरापात, षड्यन्त्र डाहा, ईर्ष्या, फटाईँ र अरुको आलोचनामा समय बर्वाद नगरौँ । कमसे कम मरेर जाँदा पनि बाँच्नेहरुले फलानो असल काम गर्ने व्यक्ति थियो भनेरसम्म सम्झउन् । असल काम गर्नेहरुलाई सधै सहयोग गरौँ । यस्ता व्यक्तिहरु सयौ हजारौँमा एकाध जन्मिन्छन् ।
ती थोरै संख्यामा रहेकाहरुले नै हाम्रो समाजलाई विकसित, उन्नत, धनी र सभ्य तथा सुरक्षित बनाउँछन् । त्यसैपनि ठूलो संख्यामा रहेका बदमास, फटाहा, षड्यन्त्रकारी समूहहरुले यी थोरै संख्याका असलहरुलाई निमूल पार्न अनेकौँ अनैतिक कामहरु गरिरहेका हुन्छन् । अतः असल काम गर्नेहरुलाई सधै प्रेरणा, धन्यवाद, सहयोग र समर्थन गर्ने काम गरौँ ।
- नामी साप्ताहिक