कठमाडौ । कोरोनाका कारण रोकिएको कक्षा–१२ को परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए ।
‘कोरोना संक्रमण जोखिम अझै कायमै छ, ’ बोर्डका अध्यक्ष प्रा.डा. पौडेलले भने, ‘त्यसैले एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएको वैकल्पिक विधिबाट गर्ने भनेर मन्त्रालयमा हिजो सिफारिस गरेका छौँ, मन्त्रालय सिफारिस स्वीकृत गरेपछि अरू थप परीक्षाबारे निर्णय लिएर सार्वजनिक गर्छाैँ । कक्षा–१२ को भने भौतिक उपस्थितिमै हुन्छ।’
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ १५:४४