विसं. २००८ सालमा ललितपुर जिल्लाको पुल्चोकमा जन्मनु भएकी सरला ढकालको व्यक्तित्वको परिचय दिन त्याग, मानवसेवा र जगतका सम्पूर्ण प्राणीहरुप्रति राखिनु पर्ने सदभाव र प्रेमको औचित्य अनि महत्वलाई पूर्णरुपले नबुझि सकिँदैन ।
वास्तवमा सरला ढकाल समाजसेवाको पर्यायकै रुपमा स्थापित भइसकेको नाम हो भन्दा पनि फरक पर्दैन । गुरुकुल विद्याश्रम, मानवसेवा र गौ सेवा जस्ता मानिस भएर जन्मेपछि नगरि नहुने कार्यहरु गरेरै छोड्ने दृढ इच्छा राखी आफू २६ वर्ष कार्यरत रहेको नेपाल बैंकबाट राजिनामा दिएकी दयालु र सरल स्वभावकी सरला ढकालसँग मानवता, अध्यात्म र जीवन जगतसँग सम्बन्धित विषयहरुमा केन्द्रित रही नामी साप्ताहिकको विशेष सम्वाददाता प्रज्वल घिमिरेले लिएको अन्तर्वार्ताको संक्षिप्त अंश यहाँ प्रस्तुत छ ।
अध्यात्म भनेको के हो ?
आफूलाई बुझ्नु नै अध्यात्म हो । अझ प्रष्टसँग भन्दा म को हुँ ? भन्ने प्रश्नको उत्तर खोजी गरी आफूलाई चिन्नु नैै अध्यात्म हो ।
अध्यात्ममा तपाईँको रुचि किन र कसरी भयो ?
बाल्यकालदेखि पिता मुक्तिनाथ देवकोटा र माता फडेन्द्रकुमारी देवकोटाको धार्मिक स्वभावका कारण दुखीहरुको सेवा गर्नु पर्छ भन्ने भावनाले र विवाहपछि पति मोहनप्रसाद ढकालको पनि त्यस्तै स्वभाव भएकाले मेरो अध्यात्मतिर रुचि बढेको हो । जावलाखेल सत्संगमा र बागडोल श्रुतिनगरको आत्मलोक सन्यास आश्रममा नित्यमहान गुरुवरहरुबाट सत्संग हुने गर्दो रहेछ । परमेश्वरको कृपाले मेरो शरीरको वास बस्ने घर पनि यिनै दुई आश्रमकोबीचमा परेकोले सत्संग गर्ने अवसर मलाई प्राप्त भयो त्यसपछि झन मलाई अध्यात्मतिर रुचि बढेर गयो ।
मान्छे किन आध्यात्मिक हुनुपर्छ ?
संसारलाई दुःखै दुःखको भवसागर भनिन्छ । त्यहि दुःख र भवसागरबाट छुट्कारा पाउन र हामी को हौ ? अनि हामीले के गर्नुपर्छ ? भन्ने कुराको ज्ञान प्राप्त गर्न हामीले आध्यात्मिक हुनुपर्छ । आध्यात्मिक ज्ञानले हामीलाई सांसारिक दुःखबाट विचलित नगराई शान्त र सुखकासाथ बस्न मद्दत गर्दछ । त्यसैले हामी सबै आध्यामिक हुनै पर्दछ ।
अध्यात्म विना हरेकको जीवन अधुरो हुन्छ भन्ने विचार व्यक्त गर्न खोज्नु भएको हो ?
अध्यात्म विना आफ्नो पहिचान आफैले गर्न नसकिने हुनाले मेरो दृष्टिकोणमा अध्यात्म विना हरेकको जीवन अधुरै हुन्छ । आजकल धेरैले यो कुरा बुझ्न सकेका छैनन् । तर जतिले बुझेका छन् तिनले ज्ञान प्राप्त गरि सुख, शान्ति र आनन्दकासाथ बाँचेका छन् ।
आजकलका मानिसहरुले भौतिकवादलाई बढी महत्व दिन्छन् भन्ने ठम्म्याई हो तपाईँको ?
आजकलका मानिसहरु सुख र सुविधाको भोगी भएकाले ज्ञानको कमीका कारण भौतिकवादी भएका छन्।
सबैले सजिलै बुझ्ने गरि भनि दिनुस् त ? प्रमुख रुपले अध्यात्म र भौतिकतामा के फरक छ ?
अध्यात्म सधै अस्तित्वमा रहन्छ तर भौतिकताको अस्तित्व निरन्तर रहँदैन । अझ सरल ढङ्गले भन्दा भौतिक वस्तुहरु नाश भएर जान्छन् तर अध्यात्म कहिल्यै पनि नाश हुदैन । अध्यात्म र भौतिकता सत्य र असत्य जस्तै हो। सत्य कहिल्यै मर्दैन भने असत्य मरेर जान्छ ।
यदि त्यसो हो भने सत्यलाई साथ दिनका लागि अहिलेको कलियुगमा अध्यात्मलाई मात्र लिएर अगाडि बढ्न सम्भव छ त ?
सम्भव छ । तर त्यसलाई बुझ्न सक्नु पर्छ । राम्रोसँग हामीले भौतिकवादलाई बुझेर उपयोग गर्दै जान सक्यौं भने हामीले अध्यात्मलाई पनि पूर्णरुपले ग्रहण गर्न सक्छौ । तर यी सबै कुराहरु ज्ञानमा निर्भर हुन्छ ।
एउटा आध्यात्मिक व्यक्तित्व भएको नाताले जीवनको व्याख्या कसरी गर्नुहुन्छ ?
मनुष्य जीवन धेरै महत्वपूर्ण छ । यो हाम्रो भौतिक शरीरकै माध्यमबाट अध्यात्मको खोजी गरि जीवनमा शान्ति र सुख प्राप्त गर्न सकिन्छ । यो जीवन अमूल्य छ । यसलाई हामीले सदुयोग गर्न सक्नुपर्छ । दुरुपयोग गर्यौं भने मनुष्य जीवनको कुनै अर्थ रहँदैन ।
भौतिक शरीर र अध्यात्म दुबैलाई सदुपयोग गरी जीवन सुन्दर बनाउन सकिन्छ भन्ने तपाईँको आशय हो ?
समय आएपछि नाशिएर जाने शरीर र कहिल्यै ननाशिने अध्यात्मको वास्तविकतालाई बुझेर दुबैलाई राम्रोसँग सदुपयोग गरी अगाडि बढ्न सके व्यावहारिक रुपमा हाम्रो जीवन सफल सुन्दर र आनन्दित हुन्छ भन्ने मेरो आशय हो ।