म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फगामका कृषकले उत्पादन गरेको सुन्तला बिक्री नहुँदा लाखौ नोक्सानी व्यहाेर्नु परेकाे छ ।
फगाममा पचास लाख मूल्य बराबरको एक लाख सुन्तलाका बिरुवा छन् । निशुल्क बाँड्न खोज्दा पनि लैजान कोही पनि आएका छैनन् । बिरुवाले बजार नपाएपछि फगामका कृषक नर्सरी व्यवसायबाट विस्थापित हुन थालेका छन् । दश जना मध्य छ जनाले बिरुवा उत्पादन गर्न छोडेका छन् ।
फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेका कृषकले बताएका छन्। दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्नका लागि योग्य हुन्छन् ।
दुई वर्ष काटेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको कृषकहरुले बताएका छन् । बजार बिस्तार हुन नसकेको कारणले बिरुवा नबिकेको हो । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो । नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो ।
मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १५:१०