कास्की । पोखरा महानगरपालिका-२५ याम्दी र वडा-१९ लामाचौर जोड्ने गरी याम्दीस्थित सेती नदीमा पक्की मोटरेवल पुल बनेपछि स्थानीयवासीलाई दिनचर्या सहज बनेको छ ।
पुल निर्माणभएर सवारी साधन वारपारसँगै लामाचौर क्षेत्रका नागरिकलाई सहज बनेको हो । पुल नहुँदा पोखरा—बाग्लुङ राजमार्गमा निस्कन दीप, केआइसिँहपुल हुँदै सिम्पानीसम्म घुमेर जानुपर्ने बाध्यता हटेको हो । यसबाट समयको समेत बचत भएपछि नागरिक उत्साहित छन् ।
सडक विभाग अन्तर्गतको पुल महाशाखाले पक्की पुल निर्माण गरेको हो । पुल निर्माणका लागि विसं २०७४ असार ७ गते लुम्बिनी÷लोहनी/मृत सञ्जीवनी जेभीसँग रु १३ करोड १७ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । पुल १२० मिटर लामो र ११ मिटर फराकिलो छ ।
पुल बनेपछि आफूहरुलाई आवतजावतमा समज बनेको लामाचौर निवासी सुष्मा गुरुङले बताउँदै उनले घुमेर आउँदा आधा घण्टा समय लाग्ने गरेकामा अहिले छिटै पुग्ने गरेको बताए ।
उनले भने,“पुल बनेर हामीलाई एकदम सहज भएको । पहिला आधा घण्टा लाग्थ्यो अहिले १० मिनेटमै पुग्छौँ । सरकारले पुल बनाएर सहयोग गरेपछि सजिलो भएको छ ।”
लामाचौर, पुरुनचौर, तथा माछापुच्छ्रे गाउँपालिकाका केही वडाका नागरिकहरु समेत पुल बनेपछि लाभान्वित बनेका छन्। राष्ट्रिय गौरवको निर्माणाधीन मध्पहाडी राजमार्ग सोही पुलहुँदै पोखरा-बाग्लुङ राजमार्गमा जोड्ने सरकारको योजना छ ।
मध्पहाडी राजमार्गको जौवारी र याम्दी खण्डको सडक निर्माणका क्रममा भीर कटानको काम हाल जारी रहेकामा पोखरा-बाग्लुङ राजमार्गमा सञ्चालन हुने सवारी साधन समेत सोही पुल हुँदै गन्तव्सम्म पुग्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १६:५९