काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल १ सय ४५ उद्योग दर्ता भएका छन् ।
उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएको हो।
यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो ।
गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल १ सय ५५ उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका १ सय ४५ उद्योगमा रू १ खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ ।
यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो । गत आवको पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ ।
विभागका अनुसार हालसम्म नेपालमा कूल रू २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित ८ हजार ९ सय ९ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा ठूला उद्योग १ हजार ३ सय ४४, मझौता उद्योग २ हजार ५८ र साना उद्योग ५ हजार ५ सय सात रहेका छन् ।
यसरी हालसम्म दर्ता भएका करिब ९ हजार उद्योगबाट प्रस्तावित रोजगारी ६ लाख ६७ हजार ३ सय २३ जना रहेको पनि विभागले जनाएको छ ।
गत पुस मसान्तसम्ममा दर्ता भएका कूल १ सय ४५ उद्योगमध्ये १ सय ३३ उद्योगमा रू १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ भने हालसम्म नेपालमा कूल ५ हजार ६ सय ६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ ।
यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग ३ सय २४, मझौला उद्योग ६ सय २२ र साना उद्योग ४ हजार ८ सय १८ रहेका छन्।
हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने ४ खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्याङ्कबाट देखिन्छ। यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या २ लाख ९९ हजार ९ सय ६१ जना छ ।
नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ ।
गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ भने चालु आवको छ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार पाँच सय ५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ।
विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ । त्यस्तै तीन सय डिजाइन र ५७ हजार पाँच सय ६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ १५:२३