कास्की । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा यति बेला आन्तरिक तथा बाह्य पर्यटक आगमन घटेको छ ।
गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनाका कारण समेत यहाँको पर्यटन क्षेत्र प्रभावित बनेको हो । पर्यटकले अग्रिम बुकिङ समेत रद्ध गरेका कारण पर्यटकको चहलपहलमा कमी आएको छ ।
पर्यटन क्षेत्र सुष्त हुँदा सोको मार फेवाताल लगायतका तालहरुमा डुँगा चलाएर जिविकोपार्जन गर्दे आएका मजदुहरुमाथि समेत परेको छ ।
विमान दुर्घटनाको त्रासपछि अग्रिम बुकिङ समेत रद्ध हुँदा पर्यटन क्षेत्र प्रभावित बन्न पुगेको पर्यटन व्यवसायीहरु बताउँछन् । घटना लगत्तै हवाईमार्गबाट यात्रा गर्ने यात्रु समेत कम भएका छन् ।
पोखरा घुम्न आउने पर्यटक फेवाताल पुग्न र तालमा डुँगामा शयर गर्न छुटाउँदैैनन् । डुँगा चढेर तालको मध्य भागमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न जानेहरु समेत उत्तिकै हुने गर्दछन् ।
फेवातालमा करिव एक दशकदेखी डुुँगा चलाउँदै आउनुभएका हेटौँडाका सविन लामाले विमान दुर्घटनाअघि आन्तरिक तथा बाह्य पर्यटक राम्रो रहेपनि त्यसपछि कम भएको बताए ।
तालमा डुँगा शयर गर्ने आन्तरिक पर्यटकको भीड अहिले घटेको लामाको भनाई छ । विगतमा दैनिक चार÷पाँच हजारसम्मले डुँगा शयर गर्ने गरेपनि अहिले घटेर दैनिक सात÷आठ सयमा झरेको लामाले बताए । उनले भने,“विमान दुर्घटनापछि पर्यटक घटेका छन् । विमानस्थल सुरक्षित छ भन्ने सन्देश सरकारले दिनुपर्दछ ।”
विगतमा ताल किनारमा डुँगा चढ्नका लागि दिनभर जसो पालो पर्खनेहरुको भीड हुने गरेपनि अहिले साँझ विहान मात्र केही चहलपहल भएपनि अन्य बेला सुनसान जस्तै हुने गरेको डुँगा व्यवसायीहरु बताउँछन् ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ १९:३२