जाजरकोट । सबै खालका प्राविधिक शिक्षा एकैठाउँमा पढाउनका लागि स्थापना गरिएको जाजरकोट बहुप्राविधिक शिक्षालय भवन बनाउने काम जारी रहेको छ ।
अघिल्लो वर्षदेखि सुरु गरिएको काम निरन्तर चलिरहेको छ । भवनको अभावमा खुलाचौरमा पढ्दै आएका विद्यार्थी भवन निर्माणसँगै अत्यधुनिक सेवासहित सुविधा लिन पाउनेछन् ।
प्राविद्यिक शिक्षालय रहेको भेरी नगरपालिका–६ काफचौरमा सडकको स्तरोन्नतिका लागि रु ४० करोड विनियोजन भई काम सुरु गर्न लागिएको जनाइएको छ । अझै धेरै काम बाँकी रहेकोले सबैसँग सहयोगको अपेक्षा गरेको शिक्षालयका प्रमुख दानबहादुर ठकुरीले बताए ।
सिटिइभिटीइद्वारा सञ्चालनमा रहेको सरकारी बहुप्राविद्यिक शिक्षालय पूर्णरूपमा तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा पर्ने यो शिक्षालयबाट सिस्ने हिमाललगायतका उच्च हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
रुपैयाँ २० करोडभन्दा बढी रकमबाट अहिले भौतिक संरचनाको काम जारी रहेको छ । यहाँ शिक्षालय नहुँदा बर्सेनि विद्यार्थी लाखौँ रकम खर्चेर बाहिर जिल्ला जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १५:५४