म्याग्दी । हिउँद सकिनै लाग्दा पनि बर्षा र हिमपात नहुदा म्याग्दीमा खेतीबाली सुक्न थालेको छ।
गत असोज तेस्रो सातादेखि बर्षात भएको छैन् । बर्षात नहुँदा गहुँ, जौ, केराउ, उवा, आलु, लगायत हिउदे बालीमा सिचाईको समस्या भएको छ ।
सिचाई सुविधा नभएको ठाउँमा लगाइएको हिउँदेबाली सुक्न थालेका छन् । बाली सुक्न थालेपछि उत्पादन घट्ने र खाद्यान्न आयात गरेर उपभोग गर्नुपर्ने अवस्था देखिएको छ ।
सिचाई डिभिजन कार्यालयका अनुसार १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिन भएको म्याग्दीको करिब २५ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा छ । ७५ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।
बुढापाकाहरुका अनुसार हिउँदमा ५० वर्षयताको लामो खडेरी भएको छ । हिउँ र बर्षात हुँदा सिचाईको पनि काम गर्दथ्यो । विगतका वर्षको तुलनामा यसपाली छिटो गर्मी शुरु भएको महशुस गरिएको छ ।
हिउँले भरिनुपर्ने समयमा गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरी हिमाल आसपासका पहाड काला देखिएका छन् । चैत–बैशाखमा फुल्ने गुराँस तापक्रम वृद्धिको असरका कारण माघ देखिनै फुल्न थालेको छ।
खडेरीले घाँस सुकेपछि जंगलमा गाइबस्तु र भेडाबाख्राको आहराको अभाव हुन थालेको छ। सुख्खासँगै वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको छ। डढेलोका कारण वन्यजन्तु र पंक्षीको वासस्थानमा असर पुग्ने, जडिवुटी र रुख बिरुवा नासिएका छन्।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १६:२२