काठमाडौ । साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लब छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेका छन् ।
चार टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधी भिडन्तमा पक्का गरेको हो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा साविक विजेता एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि २५–१७, २५–२१, २५–१५ को सहज जित हात पार्याे ।
पहिलो दिनको खेलमा सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाइ ३–० ले पराजित गर्दै ३ अंक बटुलेको एपिएफले यो जितसंगै ६ अंक बनाउन सफल भयो ।
एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजारका साथै ट्रफी प्राप्त गरिन् ।
यस्तै दोश्रो खेलमा पहिलो दिन आर्मीलाई पराजित गर्दै ३ अंक जोडेको न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ सेटले पराजित गर्दै ६ अंकका साथ फाईनल प्रवेश गरेको हो ।
अव उपाधीका लागि डायमन्डले साविक विजेता एपिएफको सामना गर्ने छ । पहिलो सेट २२–२५ ले पुलिसलाई सुम्पेको डायमन्ड बाँकी तीन सेट २५–१५, २५–२२ र २५–१९ ले जित्दै फाईनल यात्रा तय गरेको हो ।
न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित हुदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् । राउण्ड रोविन लिगको अन्तिम खेल भोलि एपिएफ र न्यु डायमन्डविच पहिलो खेल १ बजे र दोश्रो खेल आर्मी र पुलिस विच ३ः३० बजे हुनेछ ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १९:१६