काठमाडौ । विश्वकप फुटबलको छनौट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनौट अन्तर्गत दोस्रो चरणको छनौटको बाँकी खेल खेल्न नेपाली टोली कुवेत पुगेको हो ।
इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले ३ खेल खेल्नेछ।
पहिलो खेल नेपालले यही जेठ २० गते चाइनीज ताइपेइसित खेल्ने छ भने दोस्रो खेल जेठ २४ गते जोर्डनसित खेल्ने छन्। तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
विश्वकप छनौट र एशियन कप छनौटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनौट गरेको हो। नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेका हुन् ।
शनिबार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो। कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पिसिआर परीक्षण गरिएको थियो । सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेको छ ।
विश्वकप छनौटमा नेपालले अहिलेसम्म १ खेलमा मात्र जित हासिल गरेको छ भने ४ खेलमा पराजित भएको छ। समूह बी मा रहेको नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अङ्कबिहीन रहेको छ।
समूहको शीर्ष स्थानमा १२ अंककासाथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत रहेको छ। यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ।
विश्व फुटबल महासंघ ९फिफा०को बरियतामा अष्ट्रेलिया ४१औं स्थानमा, जोर्डन ९५औं, चाइनिज ताइपेइ १४१औं तथा नेपाल १७१औं स्थानमा रहेको छ ।