काठमाडौ । विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोजे वसन्त गिरीले ।
चावाहिल स्थायी ठेगाना भएका उनले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताए । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उनी सचिवालयमा करार सेवाको कर्मचारी हुन् ।
वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै परिसरमा हुर्काउने गरेको उनी बताउँछन् । उनी भन्छन् “ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ।” उनका साथमा अन्य नौ जना कर्मचारी सेवारत छन् ।
बगैँचाले सचिवालय परिसरको शोभालाई आकर्षण बनाइरहेको छ । जाडोयाममा पिटुनिया, बाघमुखी, डेन्थस, सिनोरिया लगायतका फूल र गर्मीयाममा जिनिया, पिताम्बर, लाहुरे लगायतका फूलका विरुवा लगाउँदै आएको उनी बताउँछन् । उनी जस्तै फूलबारीको स्याहारसुसारमा आबद्ध रहेका ललितपुर गोदावरीका केशव खड्का तीन वर्षदेखि सोही काममा संलग्न रहदैँ आएको छ ।
फूलबारीको कामप्रति आफ्नो सम्मान र सन्तुष्टि रहे तापनि समाजको हेर्ने दृष्टिकोण फरक रहेको उनको गुनासो छ । फूलबारीको काममा रहँदा आमा गुमाउनुको पीडालाई पनि भुलेको र कामप्रति रमाइरहेको उनी बताउँछन् ।
यसैगरी काठमाडौँ बल्खु बसोबास गर्दै आएकी ललितादेवी पासमान पनि बगैँचामा कार्यरत छन् । तीन वर्षदेखि सो सेवा सुरुआत गरेकी उनी कामको सिलसिलामा रहँदा फुलिरहेका फूलले समूहको परिश्रमको सार्थकता र व्यक्तिगत पीडालाई भुलिदिने बताउँछन् ।
ललितादेवी जस्तै सचिवालय परिसरमा फूलबारीको गोडमेल गर्दै आएका प्रेम जिसी भने पहिलादेखि फूलबारी स्याहारसुसारमा काम गरेको छ। “मलाई बगैँचामा काम गर्दा आनन्द लाग्छ।”, उनी भन्छन् । सानैदेखि सङ्र्घष गर्दै आएकाले काममा थकान भन्ने महसुस नगर्ने उनी बताउँछन् ।
नर्सरीका फूललाई अनुकूल तापक्रम, मल, पानी ठीक मात्रा दिएर कठिनाइपूर्वक जोगाउन धौधौ पर्ने उनको भनाइ छ । उनीहरुको फूलहरु जोगाउन बढी हेरचाहको आवश्यकता रहेको भनाइ छ । मकवानपुर स्थायी गोमा घलाए डेढ वर्षदेखि सोही काममा कार्यरत छन्।
सहकर्मीहरुको सहयोगात्मक वातावरणमा काम गर्दा कुटो कोदालो बोक्दा पनि त्यति कठिनाइ नभएको र सोही निरन्तरता दिने उनी बताउँछन्। सानोठिमी बस्दै आएकी कल्पना उमागाइँ भने त्यो समूहमा नयाँ हुन् । उनले एक महिना अघिबाट मात्र काम सुरु गरेको थियो। “फूलबारीको काममा रुचि छ। ”
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९ २१:०६