म्याग्दी । बेनी नगरपालीका-४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।
प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै बिदेशबाट पनि मानिसहरु आउने गर्छन्।
साउन महिनायता ८८५० जनाले स्नान गरेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ ।
बिरेनुनको गन्धन आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको भएको बिरामीहरुको भनाई छ ।
एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ।
तातोपानी कुण्डमा पुरुष र महिलाहरुका लागि फरक फरक समय तालिका बनाइएको छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति रु ३५० शूल्क तोकिएको छ।
प्रवेशशूल्क र चन्दा सहयोग वापत उठ्ने रकम मध्य २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ। बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पुर्बाधार निर्माण, बिद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिदै आएको छ।
बिगत १३ बर्षदेखि सरस्वती माविका १६ जना मध्य चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु। एक लाखका दरले सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १७:५७