काठमाडौ । देशकाे पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत ५ हजार २८५ र एन्टिजेन मार्फत ८ सय सङ्क्रमित पुष्टि भएको हो ।
हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय सङ्क्रमित छन । मन्त्रालयको अनुसार सोही अबधिमा देशभर ६८ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४५४ पुगेको छ ।
हालसम्म सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ५४ हजार ३४४ रहेकाे छ। मन्त्रालयले कोभिड-१९ को महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. कृृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गरेका हुन् । यस्ता गतिबिधिले धेरैलाई द्विबिधा र भ्रमित बनाउने गरेकाले यस्तो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ।
“कोभिड-१९ का सम्बन्धमा समग्र जनस्वास्थ्यका बिषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय वाहेकले आधिकारिक जानकारी वा पुष्ट्याइँ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रुपमा सवैलाई अनुरोध गर्ने ” सूचनामा उल्लेख छ ।
मन्त्रालयले अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्न नगराउन अनुुरोध समेत गरेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १९:४१