हेटौडा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने बताएको छ ।
हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन समारोहलाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले बताएको हो ।
राष्ट्रपति भण्डारीले भने “बेला बखत महामारीको रुपमा आउने कोभिड, डेंगु जस्ता महामारीसँग जुध्न सार्वजनिक स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउनुपर्छ ।” आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा भण्डारीले जोड दिए ।
स्वस्थ नागरिक उत्पादनको लागि विद्यार्थी तहदेखि नै बालबालिकालाई हेरचाहसहित पोशणयुक्त खाना खुवाउनुपर्ने उनको भनाई छ। स्वास्थ्य सेवा र शिक्षाको लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजिलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको उनले जनाए।
त्यस्तै, समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन समारोहमा बोल्दै कुलपति जम्कट्टेलले भने “प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले यो प्रतिष्ठान निर्माण गरेका हो, दुर दराजमा पनि स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन हामीले काम गरिरहेका छौं ।”
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १६:५२