कास्की । पोखराको हिमालयन गल्फ कोर्समा आजदेखी सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न सुरू भएको छ ।
सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औं संस्करण हो । माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिक रूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म शीर्ष खेलाडीको परीक्षा हुनेछ ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी ४५ जना प्रतियोगिहरुको सहभागिता रहेको छ ।
दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा छ एमेच्योर खेलाडीले अन्तिम १८ होलका लागि कट बनाउने एशोसिएसनका महासचिव दीपक आचार्यले बताए ।
उनका अनुसार आगामी शनिबार हुने प्रो–एमसँगै प्रतियोगितामा पोखरा र देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्नेछन् र प्रतियोगिता सकिनेछ ।
प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ र्याङकिङ अन्तर्गत रहेको छ । एमेच्योर खेलाडीले आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अङ्क प्राप्त गर्नेछन्। यस संस्करणमा प्रतियोगिताको कुल नगद पुरस्कार राशी वृद्धि गरेर ८ लाख पुर्याइएको छ ।
प्रतियोतिाको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल नम्बर एक व्यवसायिक गल्फ खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र राम मगर तथा १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार हुन्।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १८:५६