काठमाडौ । काठमाडौँ उपत्यकामा लगाइँदै आएकाे निषेधाज्ञा केही दिनलाई खुकुलो गर्दै पुनः एक हप्ता थपिने भएको छ ।
कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो ।
उपत्यकाका ३ जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो ।
बुधबार बैठक बसेर उक्त निर्णय गरिने आज बैठकमा सहभागि भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिएका हुन्।
प्रजिअ भट्टराईका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइने लगायतका निर्णय हुने छन् ।
यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरुलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने जनाएको थियो ।
आदेशका अन्य प्रावधान भने यथावत रहने जनाइएको छ । जस अनुसार अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ।
उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो । एक महिना वित्दा पनि कोरोना सङ्क्रमण आशातित रुपमा घट्न सकेको छैन तर पछिल्ला दिनमा भने घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । मुलुकभर नै सङ्क्रमण घट्दो क्रममा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १९:५८