त्रिशूली । नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भूरचैत्यको पुरातत्व विभागले अध्ययन सुरु गरेको छ।
प्राप्त ईतिहास अनुसार करीब चौधसय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसगैँ उत्खनन, अध्ययन, अन्वेषण सहित पुरातात्विक स्वरुपमा पुनर्निर्माणको लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो ।
अध्ययनको लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी संकलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुंवरले जानकारी दिएको छ।
प्रवक्ता कुंवरका अनुसार अहिले देखिएका स्वयम्भूरचैत्यको संरचना निकै पुरानो पाइएको छ । विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुप समेत नमिलेको पाइएकाले जमीनमुनीको भागबाट अध्ययन सुरु भएको हो ।
“अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ ।” प्रवक्ता कुंवरले भने “जमिनमुनीको भागमा पाइएको तथा देखिएका तथ्यको आधारमा अर्को चरण (जमीन माथि) को अध्ययन सुरु हुनेछ ।”
स्वयम्भू (चैत्य) को अध्ययनको लागी शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले संकलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् ।
स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था
छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ ।
चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्धार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनीको उत्खननको आवश्यकता पहिचानको लागी नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए ।
उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचना अनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वती लगायतका मूर्तिहरु पाइएका छन् ।
मूल स्तूप र यसको आसपासमा पुरातात्विक संरचना अनुसार भैरव लगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननको लागी गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ ।
"चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचनाहरू यत्रतत्र देख्न पाइन्छ ।” नगरप्रमुख श्रेष्ठले भने, “लामो ईतिहास, ऐतिहासिक संरचना र सँस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसंग जोडेर गरिएको प्रचारहरु अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो।”
विदुर नगरपालिका-२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोट माथि बिजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको हो । सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ ।
उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य) सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचनाहरु भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि एकीन रुपमा कुन समयमा के प्रयोजनको लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्वको रुपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए।