सायद सूर्यलाई
नचिनेर होला
अन्धकार मात्र
मन पर्ने
तिम्रो नजरले
औंसी सँग
मीत लगाएर
आफ्नो खाल्डो
आफै खन्यो
दृष्य झन झन
कालो बन्यो
उज्यालोमा फर्कन
नसक्ने गरी
पृथ्वीबाट ताराहरु
टाढा भए सरी
मिथ्याको भुमरीमा
नयन हालेर
नजर खेर फालेर
पर पीडा रतिको
कल्पनामा मुस्काएको
तिम्रो मुहारलाई
जगतको नायक
दैवले कहिले चलाउला
गगनको रंगलाई
चिन्ने हैसियत
तिमीमा कहिले पलाउला
तिमी सूर्य विहीन
पृथ्वीको एउटा सास
सालिक जस्तो
मरुभूमिको मालिक जस्तो
न हिँड्न सक्छौ
न दौडिन
भवसागर तर्न
न सक्छौ पौडिन
किन कि अन्धकारमा
लम्केका तिम्रा पाइलाहरु
गन्तव्य विहिन
भएर भाग्नेछ
लगाउन खोज्दा
नखाएको विष
अब तिमीलाई
नै लाग्नेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ २१:३८