आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएको छ ।
यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा वरिष्ठ नेता पौडेलले आफू प्रजातन्त्रका लागि ६ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरेका छन् ।
पूर्वसभामुख तथा वरिष्ठ नेता पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।”
पूर्वउपप्रधानमन्त्री पौडेलले अर्को प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट गरे ।
मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाएका वरिष्ठ नेता पौडेलसँग राष्ट्रपति निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा गरिएको अन्तर्वार्ताको संक्षिक्ष्त अंश :
आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा यहाँको तयारी के छ, मतदातासमक्ष कसरी जाँदै हुनुहुन्छ ?
राष्ट्रपतिका लागि यही फागुन २५ गते हुने निर्वाचनमा कांग्रेससहित आठदलीय गठनबन्धनका तर्फबाट म सर्वसम्मत उम्मेदवार बनेको छु । मेरो उम्मेदवारीले मुलुकमा राष्ट्रिय एकताको सन्देश प्रवाह भएको छ । निर्वाचनको तयारीका क्रममा जनताबाट निर्वाचित भएका प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग निर्वाचन केन्द्रित भेटघाट, छलफल र कुराकानी भइरहेको छ । पत्र तथा एसएमएसका माध्यमद्वारा पनि उहाँहरूसँग भोटका लागि अनुरोध गरेको छु । विभिन्न दलका नेतृत्वसँग भेटेरै कुराकानी भएको छ । मतदाता सबैसँग सम्पर्कमा पुग्ने र विश्वास दिलाउने काम भइरहेको छ।
आठदलीय गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट यहाँलाई नै किन राष्ट्रपति पदको उम्मेदवार छानियो भन्ने लाग्छ ?
राष्ट्रपति निर्वाचनका सन्दर्भमा सबै दलहरूबीच भएको छलफलमा मलाई नै उम्मेदवार बनाउने ठहर भएर सहमति जुट्यो । नेपालको अहिलेको राजनीतिमा संयोग नै भन्नुपर्छ सबै किसिमले अरुभन्दा वरिष्ठ भएको र सबैको सहमति मेरै नाममा जुटेकाले यो अवसर प्राप्त भएको छ । अहिलेको व्यवस्था र लोकतन्त्र प्राप्तिका क्रममा सबैभन्दा बढी सङ्घर्ष र मेहनत गरेको छु । लोकतन्त्र स्थापना, संविधान निर्माणमा पनि मेरो भूमिका र योगदान देखेर सबै साथीहरूले मलाई नै उययुक्त ठान्नुभयो ।
राष्ट्रपति संंवैधानिक पद हो, यहाँ कांग्रेसेको क्रियाशील र वरिष्ठ नेता हुनुहुन्छ, निर्वाचित भएमा पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ?
मेरो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा सङ्घर्ष भनेको लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि हो । यसका लागि जीवन बिताएर म यहाँसम्म आइपुगेको छु । मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको लोकतन्त्र र जनताको अधिकार हो । अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो । त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो । लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ । परिवर्तनका यी उपलब्धिको रक्षा राष्ट्रपति पदबाट हुन्छ भन्ने मलाई लाग्छ । संविधान र लोकतन्त्रको रक्षा गर्न यो ठाउँ पनि महत्वपूर्ण छ । दल र अरु साथीहरूका बीच यही कुरामा सहमति भएर नै म उम्मेदवार बनेको छु । जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु ।
राष्ट्रपतिमा यहाँको निर्वाचन जित्ने आधार के के हुन् ?
कांग्रेससहित आठ दलको तर्फबाट म साझा उम्मेदवार भएपछि देशभर मेरो पक्षमा जनलहर पनि छ । मेरो सङ्घर्षको इतिहास देखेका, मेरा बारेमा थाहा पाएका जनतामा मप्रति अपेक्षा र भरोसा छ । राष्ट्र र प्रजातन्त्रप्रतिको सङ्घर्षमा भएको योगदानका कारण मलाई यो जिम्मेवारी दिँदा संविधान र परिवर्तनका उपलब्धि सुरक्षित रहन्छ भन्ने जनमत पाएको छु । अर्को कुरा दलको पनि समर्थन मलाई मिलेको छ । नेकपा (एमाले)बाट मेरो साथी सुवासजी उम्मेदवार हुनुहुन्छ, त्यही दलबाट पनि मप्रतिको सद्भाव र विश्वासको अनुभव गरेको छु । यो चुनावमा मलाई विजयी हुनका लागि त्यो जनमत नै सहयोगी हुन्छ भन्ने मेरो विश्वास छ ।
यहाँलाई आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ?
समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन् । अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही कुनै पनि तलमाथि हुन नदिई प्रभावकारी ढङ्गबाट काम गर्नुपर्छ । अहिले हामीसँग संविधान र गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा र चुनौती छ । गणतन्त्रको राष्ट्रपति र हिजोको राजतन्त्रको राष्ट्रध्यक्षको चरित्रमा मौलिक भिन्नता हुन्छ। त्यो पृथकता देखाउने प्रयास मबाट हुन्छ । हिजो र आजको राष्ट्राध्यक्षका व्यवहार र आचरणमा के–के भिन्नता हुनुपर्छ भन्नेमा प्रष्ट छु ।
राष्ट्रपति वा प्रधानमन्त्री भनेको मुलुकको भिन्नै विशिष्ट नभई सबै जनताका बीचमा पदीय जिम्मेवारीका कारण अग्रज मात्र हो । यो विषयलाई म यही रूपमा नै लिन्छु । असली अनि पूर्ण लोकतन्त्र र गणतन्त्र यही हो । समाजका सबै मानिस समान र स्वतन्त्र हुन् । हामी त्यही खोजीमा छौँ । त्यही आचरण गर्नुपर्छ ।
राष्ट्रपतिमा निर्वाचित भएमा संविधानको संरक्षण, पालना र प्रवद्र्धनमा यहाँको भूमिका के रहन्छ ?
मेरो एउटै कुरा हो, मैले जीवनमा जुन ‘मिसन’लाई अगाडि राखेर सङ्घर्ष गरेँ, त्यो मिसनलाई पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्न र लोकतन्त्रलाई स्थापित गर्न पूर्णरूपमा क्रियाशील भएँ । त्यसमा भिजेको तथा संविधानको सम्पूर्ण अक्षर, मर्म एवं भावनासँग जानकार र परिचित भएको तथा आत्मसात गरेको व्यक्तिका नाताले आउनसक्ने कुनै पनि चुनौतीबाट जोगाएर लैजान सक्छु भन्ने मेरो अठोट छ ।
राष्ट्रपतिमा राजनीतिक दलहरूको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ?
राष्ट्रपति संविधानको पालक र संरक्षक तथा संवैधानिक सर्वोच्च र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने पद हो । यो पदको विशेष महत्व छ। तर यसका आफ्नै मर्यादा छन् । संसदीय प्रणालीको मान्यताअनुसारको पद हो । यसको अर्थ राष्ट्रप्रमुखबाट गल्ती हुँदैन भन्ने मान्यता राखिन्छ । हाम्रो राजनीतिक प्रणालीमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काम गर्ने हो । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार र संविधानले तोकेको छ । तर, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, संविधानको संरक्षकको नाताले सजग भएर राष्ट्रहितबारे सोचिरहेको हुनुपर्छ ।
नेपाल संवेदनशील भू-राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ?
नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए । यसले कसरी जोगिएर र सन्तुलन मिलाएर अघि बढ्नुपर्छ भन्ने कुरालाई इङ्गित गर्छ । हामीले असंग्लनताको परराष्ट्र नीति र तटस्थताको महत्व बुझेर अघि बढ्नु पर्छ। नेपालले त्यही कूटनीति अवलम्बन गर्नुपर्छ । राष्ट्राध्यक्षले त्यसैका लागि आवश्यक वातावरण बनाउने र राय–सुझाव दिने काम गर्न सक्छ।
अन्त्यमा, राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई यहाँ त्यो पदमा पुग्ने भएको खण्डमा शीतलनिवासबाट कस्तो शीतलता प्रदान होला ?
आठदलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार भएपछि नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु । मलाई लाग्छ, त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन् ।