काठमाडौ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएको छ ।
सङ्घको शनिबार सम्पन्न १९औँ साधारणसभामा उनले कुल खसेको ४ सय ६८ मतमा २ सय ३५ मत प्राप्त गर्दै विजयी भएको हो ।
उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २ सय ९ मत प्राप्त गरे । सङ्घ स्थापनाकालदेखि नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा ४ कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेको छ ।
“संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु”, नवनिर्वाचित अध्यक्ष निरौलाले भने, “मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।”
उपाध्यक्षमा कविता गेलालले १ सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भएका छन् ।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले २ सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २ सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भए ।
सदस्यमा शीतल केसी सर्वाधिक ३ सय २ मत ल्याएर विजयी भएका छन् भने अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ २ सय ८७, उद्धवप्रसाद भट्टराई २ सय ११, पवन केसी २ सय २, नम्रता खरेल १ सय ८७, पुकार भट्टराई १ सय ८२, खुश्बु खड्का १ सय ७७, सरिता राधोपाध्याय १ सय ४६, रोशन श्रेष्ठ १ सय ३५ र समीर लामा १ सय ३३ मत प्राप्त गरेर विजयी भएका छन् ।
चलचित्र कलाकार सङ्घमा झन्डै सात सय सदस्य रहेको सङ्घको निर्वाचनमा ४ सय ६८ मतमात्र खसेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ०८:५२