स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष्य सुनिश्चित गर्छ। अहिले हरेक क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ । जसको कारण नेपालमा नेपाली राजनीतिलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रित हुन थालेको छ ।
अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनाक्रमले नेपाली राजनीति नकारात्मक रुपमा चित्रित हुन थालेको हो। त्यस्तै, विश्वकै नोबल जब मानिएको शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिन्छ । विद्यालयस्तरीय होस् वा उच्च शिक्षामा अनावश्यक राजनीति व्याप्त छ ।
राजनीतिको खेलको अभ्यास गर्ने थलोका रुपमा शिक्षण संस्था पनि परिचित हुन थालेको छ । टाठावाठाको भूलभुलैयामा विद्यार्थी पनि आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा पनि विभिन्न रुपका आन्दोलनमा हाम्फाल्ने प्रवृत्ति छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मबारे छेऊ–पुच्छर थाहा हुँदैन । आन्दोलनको दूरगामी असरसमेत उनीहरुलाई जानकारी हुँदैन ।
देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले राजनीतिक कर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा खट्किएको छ । समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो ।
व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको, सिम्प्टमभन्दा सिस्टमलाई सम्बोधन गर्नेखालको दृढ इच्छाशक्तियुक्त राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो । शिक्षित र चेतनशिल नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु स्वाभाविकै हो।
शिक्षक, कर्मचारीलाई उनीहरुको पेशागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्याड्ढन गरिनुका कारण बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट विमुख भएका छन् । विद्यालय वर्षको घटीमा २२० दिन खुल्नुपर्ने प्रावधान भएपनि ९० दिन पढाइ भएमा ठूलो उपलब्धि भएको ठान्नु परेको छ । बरु, बन्द–हड्ताल, जुलुसको प्रमुख तारो विद्यालय हुने गरेका छन् ।
अतः शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्बाध रुपमा चल्न पाउनु पर्छ । शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनु पर्छ । राजनीतिकर्मीले आफ््नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्ला भन्नेबारे अभिमुखिकरण गरिनु पर्छ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न टेवा पुग्छ ।
जानी–जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खल्बल्याउने कुत्सित नियत भएका जो कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गरिनु पर्छ । चर्को राजनीतिक हस्तक्षेप तथा विद्यालय तथा कलेजमा राजनीतिक हाबीलाई निस्तेज गर्न र गराउन आवश्यक छ । शिक्षा क्षेत्रलाई राजनीतिको खेल मैदान बनाउन दिनु हुन्न । राजनीतिरहित शिक्षा हुनुपर्दछ ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ १०:४०