आर्थिक मन्दी तथा गरीबीको घेरामा रहेका सर्वसाधारणका कारण हाल देशमा मिटर व्याजको समस्या जल्दोबल्दोरुपमा देखा परेको छ। देशका विभिन्न भागमा सर्वसाधारणहरुलाई मिटर व्याजमा ऋण लगाएर ठगी गरिरहेको अवस्थाको पर्दाफास भएको छ ।
जसको कारण त्यसले आन्दोलनको समेत रुप लिइसकेको छ । मिटर व्याजीविरूद्ध देशका विभिन्न भागसँगै काठमाडौँ उपत्यकामा समेत आन्दोलन भैरहेको छ । मिटर व्याजीविरूद्ध अहिलेसम्म झन्डै २३ सयभन्दा बढी उजुरी परेको तथ्याङ्कले देखाउँछ।
उजुरीका आधारमा मिटर व्याजबाट सबैभन्दा बढी पीडित प्रदेश भने मधेश देखिएको छ, जहाँ झन्डै हजार पीडितले उजुरी दिएका छन्। मिटर व्याजको दोस्रो प्रभाव क्षेत्रका रुपमा बागमती प्रदेश देखिएको छ, जहाँबाट साढे तीन सयभन्दा बढीको उजुरी परेको देखिन्छ । मिटर व्याजको समस्याबाट बढी प्रभावित रहेको लुम्बिनी प्रदेश पनि हो, जहाँ दुई सयभन्दा बढीले उजुरी गरेको तथ्याङ्कले देखाउँछ ।
एक त त्यस्ता जाहेरीमाथि अध्ययन गर्ने काम निकै जटिल छ भने कारबाहीको प्रक्रियामा समेत त्यसबाट ढिलाई हुँदा कयौँ साहुकाररुपी नाइकेहरु फरार हुने अवस्थासमेत सिर्जना भैरहेको देखिन्छ । अहिले नै केही प्रमुख साहुकारहरु फरार भैसकेका खबरहरु सञ्चारमाध्यममार्फत प्रसारण÷प्रकाशन भैरहेका पनि छन् । सरकारले यस विरुद्ध कडाइ गर्नुपर्ने देखिन्छ।
मिटर व्याजमा ऋण उपलब्ध गराउँदा धेरैको उठीबाससमेत भएको छ । चर्को व्याजका कारण कतिले घरजग्गासमेत बेच्नुपर्ने बाध्यात्मक अवस्थासमेत छ । मिटर व्याजमा ऋण दिने साहुकारहरु मालामाल हुने र त्यसरी ऋण लिने पीडितहरु सडकमा आउनुपर्ने अवस्था अवश्य पनि न्यायोचित छैन ।
मिटर व्याज एक प्रकारको अपराध नै हो । चर्को व्याजमा ऋण लगानी गरेर सर्वसाधारणलाई ठग्नु त्यसैले पनि गैरकानुनी छ। कयौँको सम्पत्तिमात्रै नभएर घरबास समेत हड्पेको अवस्था कानुनीरुपमा समेत दण्डनीय छ ।
मिटर व्याजवाट पिडितहरु मधेश तराईवाट लामो समयको पैदल यात्रा गरेर काठमाडौंमा आएर त्यस विरुद्ध आवाज बुलन्द गरेका छन्। जसका कारण सरकारको आँखा खुलेको छ । तत्काल यस विरुद्ध कानून बनाएर चर्को मिटर व्याजवाट पिडितहरुका लागि राहत दिन प्रकृया शुरु भएको छ । जुन स्वागतयोग्य कुरा हो ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ १४:२६