आज मलाई गजब को लहड चल्यो I मलाई पनि पल्लो कोठामा भएकी छोरीलाई "Happy Birthday" भन्न मन लाग्योI श्रीमतीलाई विवाहको "Happy Anniversary" लेख्न मन लाग्यो I
साथीभाइहरुसँग आफ्नो विचार share गर्न मन लाग्यो I अर्थ न बर्थ का कुराहरुलाई पोस्ट गरेर वाह ! वाह ! लुट्न मन लाग्यो I बेला न कुबेला खिचेका अनि रुप न रंगका तस्बिरहरु अरुलाई देखाउन मन लाग्यो I मलाई पनि सामाजिक सञ्जालमा आफ्नो account खोल्न मन लाग्यो I
आफ्नो मनको इच्छा श्रीमती र छोरीलाई सुनाए I उनीहरुको अनुहारमा अच्चम्म भाव प्रस्ट देखिन्थ्यो मेरो कुरो सुनेरI श्रीमतीले सोधिन "सामाजिक सञ्जालमा account खोल्न त फोन चाहियो नि बुढा, छ त ?" म झस्याङ्ग भएँI
फोन त्यो पनि मोबाइल फोन कहाँबाट लेराउने I हामी जस्तो जागिरेले त्यस्तो फोन किन्ने भनेको पनि ठुलै कुरो रहेछI घुस खाने ठाउँमा जागिर खान पाएको भए नि हुन्थ्यो भन्ने जस्तो लाग्छ कहिलेकाही घरको अभाव देख्दा I
तर पुर्पुरोमा नभएको कुरो के पाइन्थ्यो र I गरिबीको अस्त ब्यस्त तालमा अल्झेको जिन्दगीमा मलाई सामाजिक सञ्जालको फितुर चल्दा आफैसँग झोक चल्यो एकछिन् I
बल्ल बल्ल पोहोर साल किनेको फोन श्रीमतीलाई नभई भएन I त्यो देखेपछि छोरीले फोन नभए स्कूल नै जान्न भन्न थालि, उसलाई पनि किन्दिनै पर्यो I अनि आफू चाही बुच्चाको बुच्चै I
अजिङ्गरको आहारा दैबले पुर्याऊँछ भने झैँ मलाई पनि आज फोन किन्ने साइत आइ लाग्यो त्यो पनि दशैँको पेश्की ले I श्रीमतीको अलिअलि डर मनमा छँदै थियो तर पनि हिम्मत गरेर एउटा फोन किनी छाडे मैले I
घर फर्किदै गर्दा मनमा ग्लानी अनि खुशीको मिश्रण अनुभव गरिरहेको थिए l दशैँको पेश्की फोनमा सिध्याऊँदा श्रीमतीबाट खानु पर्ने गाली पनि सम्झीरहेको थिए मैले I
सोचको बिपरित घरमा फोनको खुशी साथ् स्वागत भयो I लाग्यो होला बल्ल बुढो पनि आधुनिक भयो भनेर I उनीले नै Facebook, Instagram, अनि क्या हो क्या हो खोलिदीइन मलाई I उनको सहयोगले गर्दा मैले पनि Facebook चलाउन जाने I छोरीले Instagram चलाउन सिकाई I
उसलाई पनि आफ्नो बाऊ modern भाको खुब मन परेको छ I उनीहरुको देखासिकिमै मैले snapchat र TikTok मा रमाउन जाने । Twitter र Linkdin को account खोल्दा आफैलाई बुद्धिजीवी वर्गसँग जोड्न थालेको छु ।
आजभोलि म श्रीमतीलाई "I Love You" भनेर लेख्छु Facebook मा I मलाई उत्तर पनि आउँछ तुरुन्तै "I Love You Too" ताज्जुब लाग्छ मलाई I श्रीमतीसंँग माया जताउन मलाई फोनको साहारा चाहिएको अनि उता छोरीसँगको भेटघाट फोनमा नै सिमित भएको देख्दा लाग्छ आधुनिकीकरण भनेको यहि हो जस्तो I
साथीभाईको गजब गजबका अनि उरनठ्याउला पोस्टले कहिले काही मन बहलाउन सहयोग हुन्छ तर मनको कुनामा लुकेको कौतुहलता अनि सामिप्यको अधुरोपना भने रहिरहन्छ I
साथी भाइको लहैलहैमा मैले पनि पोस्ट हाल्न सिके र आज भोलि upload गर्न थालेको छु । पोस्ट हालीसकेपछि आउने comments मा दिन बिताउनु अब नौलो छैन मलाई।
त्यति मात्र कहाँ हो र, आफ्नो पोस्टहरुलाई viral बनाउने तरिका सिक्दै छु मैले । तिनै साथीभाईहरुसँग । कसलाई follow गर्ने र कस्ले आफूलाई follow गर्छन भन्ने बिषय पनि महत्वपूर्ण हुने कुराको महशुष तिव्र गतिमा भइरहेको छ।
समयको माग भन्दै आफु पनि फोनको संसारमा हराउन मन लाग्न थालेको छ अहिले । सँगै हुँदा कसले सोध्छ र 'कस्तो छौ भनेर' त्यसैले आफ्नो हाल फोनमै देखाउन मन लाग्छ अक्सर त्यसैले होला मेरा दिन अनि रातहरु फोनमा नै वित्न थालेको छ।
फोनको संसारमा रमाउन जानेदेखि मलाई अरु कोहि नचाहिने भएको छ । सँगै बसेको साथी भन्दा फोनमा भेटिएको अनजानसँग घण्टाै बिताउनु मेरो दिनचर्या बनिसकेको छ। सामाजिक सञ्जालले लेराएको यो प्रगतिमा मेरो परिवार दङ्ग छन् अनि उनीहरुसँगै म पनि दङ्ग छु ।
गुरुजी, पिताजी, माताजी भन्दा बढी 3G 4G 5G को महत्व बुझ्न थालेको छु मैले पनि । अनि बुझ्न थालेको छु virtual world, वास्तविक संसारको कसलाई छ र पर्वाह । धन्य होस् सामाजिक सञ्जाल अनि धन्य होस् यो फोनको संसार ।