अन्धविश्वासको स्रोत धर्ममा आधारित छ । अर्थात्, धर्मको पर्यायवाची रूप नै अन्धविश्वास हो। जुनसुकै धर्मका ठूला ठूला कितावमा जे लेखिएको छ त्यसलाई ज्ञानको स्रोत मान्छ ।
कुनै घटना वा कार्य हुनुको कारण ईश्वर वा त्यस्तै कुनै अदृष्य शक्ति भएको दाबी गर्छ । मान्छे जन्मनु, मर्नु, पुनर्जन्म लिनु, राजा हुनु, रैती हुनु, सुख पाउनु, दुःख पाउनु सबै ईश्वरको अनुकम्पा भएको स्वीकार गर्छ ।
अन्धविश्वासले कुनै पनि विषयमा प्रश्न र खोज गर्न निषेध गर्छ । सारा ब्रह्माण्ड, जगत्को निर्माता, संरक्षक र संहारकर्ता ईश्वर भएको हुँदा अरू सर्वथा झुटो भएको ज्ञान उत्पादन र प्रसारण गरिरहन्छ । यही ज्ञानबाट दीक्षित मानव समाज नै अन्धविश्वास पुनर्उत्पादन गर्ने मलिलो थलो बन्न पुग्छ ।
निरन्तर अन्धविश्वास जीवन व्यवहारमा अभ्यास गर्दै जाँदा मानवीय संस्कृतिको रूपमा विकास हुन्छ । धर्मलाई झाँगिन आश्रय दिने विचारपद्धति भाग्यवाद हो । यो विचारले मान्छे कस्तो बन्ने, के पढ्ने, भविष्य कता जानेजस्ता सबै कुरा विधाताले जन्मनुभन्दा पहिल्यै लेखिदिने वकालत गर्छ ।
कोही शासक वा राजा हुनु, मजदुर हुनु, स्वस्थ हुनु, रोगी हुनु अघिल्लो जुनीको कर्मको फल भएको विश्वास गर्छ । जुन अन्धविश्वास भएतापनि विश्वासमा बदलिदै आएको छ। सोही विश्वासका कारण धेरैको रोग पनि निको हुने गर्दछ । आखिर हरेक रोगको सही उपचार भनेकै विश्वास हो । त्यही विश्वासलाई अन्धविश्वासले आत्मसात गरेकै कारण अन्धविश्वासमा विश्वासको बृद्धि भएको मान्न सकिन्छ ।
पुरुषभन्दा नेपाली महिला धार्मिक कार्यमा बढी लिप्त देखिन्छन्। विभिन्न पर्व र अवसरमा उनीहरू आफ्नो श्रीमानको आयु र स्वास्थ्यका लागि निराहार व्रत बस्ने गर्छन् । मन्दिरमा पूजापाठ गर्ने लर्को महिलाकै बढी देखिन्छन् । के गर्न हुने र नहुने भन्ने धर्मनिर्देशित मूल्य–मान्यता संविधान र कानुनभन्दा बढी शक्तिशाली र प्रभावकारी छन् ।
महिलालाई पुरुषको घरमा दान गरेर दिने वस्तु ठानिन्छ । पुरुषले जति हिंसा गरे पनि रिझाएर घर गरिखानु विवाहित नारीको कर्म मानिन्छ । जन्मिँदै को पवित्र हुने र को अपवित्र हुने यही धर्मले नियम बनाउँछ ।
हामीकहाँ अद्यावधिक छुवाछुत, दाइजो, बोक्सी, धामी झाँक्री, बालविवाह, छाउपडीजस्ता प्रथा जीवितै छन् । यस्ता हजारौँ प्रथा, परम्परा, मूल्य–मान्यताको उत्पादन र निरन्तर विकास धर्मले गर्दै आएको छ । यी सबै कुप्रथा र कुसंस्कारका पछाडि धार्मिक अन्धता जोडिएको छ ।
यसैमा सवैलै विश्वास गर्ने गरेको छ। यसलाई चिर्न प्रत्येक कालखण्डमा प्रयास भएतापनि त्यो निश्फल जस्तो बनिरहेको छ। जुन विडम्बना हो ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १६:३९