तनहुँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्ले निर्वाचित भएको छ ।
आज बिहान सम्पन्न मतगणनाअनुसार (रास्वपा)का डा वाग्लेले ३४ हजार ९ सय ११ मत प्राप्त गरेर निर्वाचित भएको हो ।
डा वाग्लेको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले) का सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिएका हुन् ।
यसैगरी राप्रपाका शोभा गुरुङले २ सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले ५, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले १ सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेको छ ।
उपनिर्वाचनमा ६५ हजार ३ सय १६ मत खसेकोमा ६४ हजार १ सय ३५ मत सदर भएको थियो भने १ हजार १ सय ८१ मत बदर भएको थियो ।
तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०७:५७