चाहना हुँदाहुँदै पनि काम गर्न सम्भव नहुने महसूस गरी विसं. २०५९ सालबाट फोहोरमैला व्यवस्थापनमा सफलतापूर्वक काम गर्दै आएको नेम्सेम्याक ग्रुपमा पूर्णरुपले आवद्ध भई अध्यक्षका रुपमा काम गर्दै आएका अत्यन्त सरल, भद्र र कर्मठ व्यक्तित्व टिकाराम दाहालसँग नेपालमा फोहोरमैला व्यवस्थापनको समस्या र समाधानमा केन्द्रित रही नामी साप्ताहिकका विशेष सम्वाददाता प्रज्वल घिमिरेले लिएको अन्तर्वार्ताको संक्षिप्त अंश यहाँ प्रस्तुत छ।
तपाईँ फोहोरमैला व्यवस्थापनमा लाग्नुको कारण के हो ?
फोहोरमैलाको व्यवस्थापनलाई राष्ट्रको समस्याको रुपमा हेरेका कारण मलाई यस क्षेत्रमा लाग्न प्रेरणा प्राप्त भएको हो। झन त्यसमाथि पवित्रस्थल मठमन्दिरहरुमा यो समस्याले विकराल रुप लिएको देखेर मलाई यो क्षेत्रमा समर्पित भई लाग्न बाध्य बनायो ।
राज्यले साथ दिएको छ त तपाईँको कामलाई ?
राज्यको साथ विना त काम गर्नै सकिँदैन । तर राज्यको जति साथ हुनुपर्थ्याे त्यति साथ भने हामीले पाएका छैनाै ।
राज्यबाट कस्तो खाले साथ र सहयोगको अपेक्षा गर्नु भएको छ ?
राज्यले फोहोरमैला ऐन कानुनको व्यवस्था गरेर निजि क्षेत्रलाई व्यवस्थित र क्षमता विकासमा टेवा दिने नीति ल्यायो भने हामीलाई काम गर्न सजिलो हुन्थ्यो । साथमा फोहोरबाट मानिसको जीवनमा उपयोगी हुने खालका वस्तुहरु उत्पादन गर्नका लागि अनुदानको व्यवस्था गरी सरकारी जग्गामा काम गर्ने वातावरण मिलाउन राज्यबाट पहल भयो भने हामीलाई काम गर्न अझ हौशला र प्रेरणा मिल्ने थियो ।
भनेपछि अहिले तपाइँहरु राज्यबाट प्राप्त भएको साथ र सहयोगबाट सन्तुष्ट हुनुहुन्न ?
मैले अघि नै भनिसकेँ हामीले अपेक्षा गरेअनुसार जति सहयोग र साथ राज्यबाट पाउनु पथ्र्यो त्यति पाएका छैनौं । यस्तो वातावरणमा फोहोरको सही रुपले व्यवस्थापन हुन सक्दैन। फोहोरलाई शून्यतामा लान फोहोरको व्यवस्थापनमा राज्यको लगानी पर्याप्त हुनुपर्छ । रिसाइकलिङ्गका माध्यमबाट उपयोगी वस्तुहरुको उत्पादन गर्नका लागि । यो नै फोहोरमैला व्यवस्थापनको समस्या स्थायी रुपले समाधान गर्ने अन्तिम उपाय हो ।
फोहोरको व्यवस्थापनमा जनस्तरबाट कस्तो सहयोग प्राप्त भइरहेको छ ?
हामीलाई जनताको अत्यन्त ठूलो सहयोग प्राप्त भइरहेको छ । हामीले जनताकै सहयोगमा जनताको काम गरिरहेका छौ । अझ राज्यले हामीलाई हाम्रो काममा थप प्रोत्शाहन दिने नीति ल्याउन सक्यो भने फोहोरलाई नै पुनः प्रयोग गरेर हामीले रोजगारीको सिर्जना पनि अधिक मात्रामा गर्न सक्छौं । यदि यस्तो हुन सक्यो भने फोहोरमैला व्यवस्थापनमा विदेशी सहयोगदाताको मुख ताक्न नपरोस् भन्ने हाम्रो चाहना पनि पूरा हुन्थ्यो ।
विश्वको विकसित मुलुकहरुले फोहोरमैला व्यवस्थापनको क्षेत्रमा पाएको सफलताबाट हामीले के सिक्नुपर्छ ?
फोहोरको व्यवस्थापनका लागि उनीहरुले गरेको अभ्यास ज्यादै सराहनीय छ । त्यसलाई हामीले पनि अनुकरण गर्न सक्यौं भने हामीले पनि उनीहरुको जस्तै फोहोरमैला व्यवस्थापनमा सफलता हासिल गर्न सक्छौं ।
अहिले नेपालमा फोहोरमैला व्यवस्थापनमा तुलनात्मक रुपले सुधार भएको पाउनुहुन्छ ?
एकदमै धेरै सुधार भएको छ । आजकल पहिलेको तुलनामा बाटाघाटामा फोहोर देखिँदैन । अहिले फोहोर सही ठाउँमा राख्नपर्छ भन्ने चेतनाको विकास तीव्ररुपले भएको देखिन्छ ।
अव नेप्सेम्याकलाई विस्तारित रुपले लाने तपाईहरुको सोच छ ?
हामी नेपालभरि नै नेम्सेम्याकलाई विस्तारित रुपले लाने सोचमा छौं । तर साझेदारी सिष्टम हुन सक्यो र ठेकेदारी सिष्टम हट्न सक्यो भने हामीलाई विस्तारित रुपले काम गर्न सहज हुने थियो ।
फोहोरमैला व्यवस्थापनमा नेप्सेम्याकको आगामी योजना के छ ?
सरकार लगायत अरुबाट हामीलाई सहजिकरण हुँदै गयो भने फोहोरलाई शून्यतामा लग्न फोहोरलाई नै पुनः प्रयोग र रिसाइकलिङ्ग गरेर हामी सबैलाई उपयोगी हुने वस्तुहरु उत्पादन गर्ने हाम्रो सोच र योजना रहेको छ । तत्काल प्रयोगमा नआउने तर थप व्यवस्थापन गरी प्रयोगमा ल्याउनु पर्ने अन्य खालको फोहोरलाई भने इन्धनको रुपमा प्रयोग गर्ने र इँट्टाको सुर्की बनाउने पनि हाम्रो योजना छ ।
अन्तिममा फोहोरमैला व्यवस्थापनमा नेप्सेम्याकको भुमिका र नेप्सेम्याक ग्रुपको बारेमा केही भन्न चाहनुहुन्छ ?
नेप्सेम्याकले फोहोरमैला व्यवस्थापनमा धेरै ठूलो भुमिका निर्वाह गरेको छ । फोहोरमैला व्यवस्थापनमा यो सबैभन्दा राम्रो ग्रुप हो भन्न चाहन्छु र अन्तिममा यो ग्रुपको बारेमा नभनि नहुने एउटा कुरा के छ भने यो ग्रुपले श्रम ऐन भन्दा माथिका सुविधाहरु दिएर ५०० जनालाई प्रत्यक्ष रोजगारी पनि दिइरहेको छ ।