काठमाडौ । सङ्खुवासभा जिल्लाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर-७२ जहाजले परीक्षण उडान गरेको छ।
बुद्ध एयरको एटीआर-७२ जहाजले आजबाट काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो ।
तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको बुद्ध एयर तुम्लिङ्टार कार्यालयका सिनियर अफिसर राजीव पोखरेलले बताए ।
पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसन लगायत बुध्द एयरका अपरेसन तथा टेक्निकलसहितको टिमले विमानस्थलको अनुगमन समेत गरेको अफिसर पोखरेलले जानकारी दिए ।
अफिसर पोखरेलले भने, “आजको परीक्षण उडान सफल भयो, दुई हप्ताभित्र यसको रिपोर्ट आउने छ।” रिपोर्टमा तुम्लिङ्टार विमानस्थलमा ७२ सिटको उडान योग्य भनी सिफारिस गरे एटीआर–७२ ले उडान शुरु गर्ने पोखरेल बताए ।
लकडाउनको केही दिनअघि बुद्धले ४७ सिटको जहाजले काठमाडौँ-तुम्लिङ्टार, तुम्लिङ्टार-विराटनगर उडान शुरु गरेको थियो।
बुद्धले हप्ताको सातै दिन काठमाडौँ-तुम्लिङ्टार र हप्ताको ३ दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङ्टार–विराटनगर उडान गर्दै आएको थियो।
तुम्लिङ्टारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेका छन् । यती एयरको ३२ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८ २१:४१