काठमाडौं । विमा नेपाल (WIMA Nepal) को आयोजनामा "मोटाेगर्ल्स टु दी सिन्धुलीगढी" महिला मोटरसाइकल र्याली हुने भएको छ ।
‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा भोलि शनिबार हुन गइरहेकाे मोटरसाइकल र्याली नृत्य निर्देशक तथा विमा नेपालकी संयोजक तुलसा पहाडीको नेतृत्वमा हुन लागेको हो ।
हरेक वर्ष मे ६ तारिखमा मनाइने ‘इन्टरनेसनल फिमेल राइड डे’ लाई मोटर स्पोर्ट्सको क्षेत्रमा नेपाल लगायत विश्वकै अटोमोबाइल क्षेत्रको इतिहासमा सर्वाधिक लोकप्रिय महिला मोटरसाइकल र्याली मानिएको छ ।
आयोजित र्याली नेपाल टुरिजम बोर्ड प्रदर्शनीमार्ग काठमाडौँदेखि सुरु भई भक्तपुर, बनेपा, धुलिखेल, खुर्कोट हुँदै सिन्धुली कलाघरको अवलोकन पश्चात सिन्धुलीगढीमा पुगेर टुंगिने र्याली संयोजक पहाडीले बताए ।
विगत केही बर्षदेखि महिला मोटरिङ र मोटरसाइक्लिङको क्षेत्रमा क्रियाशील नासा वुमेन कमिसन अन्तर्गत विमा नेपाल (WIMA Nepal) द्वारा आयोजना गर्दै आइरहेको यस र्यालीमा १४ जना राइडरहरु सहभागी हुनेछन्।
यस र्यालीमा सहभगीहरुलाई सेफ्टी राइडिङ ओरिएन्टेशन समेत दिइने छ भने व्यवस्थापनका लागि र्याली संयोजक पहाडीको संयोजकत्वमा विशेष समिति समेत गठन गरिएको छ ।
त्यस्तैगरी र्यालीलाई नेपाल टुरिजम बोर्ड, नासा नेपाल, काठमाडौं लिजेन्ड्स, कवच गियर्स, पेट्रोनस स्प्रिन्टा, रिबुस्ट इनर्जी ड्रिंक आदिको सहयोग रहेको छ भने हस्पिटालिटी पार्टनरको रुपमा गणपति रिसोर्ट रहेको छ ।
यस र्यालीले नेपाली महिला सशक्तिकरणका लागि नयाँ आयाम थप्ने, एड्भेञ्चर, वुमेन इम्पावरमेन्ट र टु ह्विल टुरिङको कम्विनेसन पाउनेछन् भने सडक सुरक्षाको सन्देश प्रवाह गर्नुका साथै सिन्धुलीगढीलगायत समग्र सिन्धुलीको पर्यटन प्रवर्द्धनमा विशेष महत्वपूर्ण अर्थ राख्ने आयोजकले बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १३:०५