काठमाडौं। विश्वमा नेपालको मौलिक लिपिको रुपमा चिनिएको अनि संयुक्त राष्ट्र संघमा दर्ता भएको नेपालको एकमात्र लिपि रञ्जना लिपि हो। यो रञ्जना लिपि नेपालको मौलिक लिपि हो ।
यो लिपि ११ औं शताब्दीतिर नेपाल मै प्रादूर्भाव भएको र यहिँ विकसित भएको मानिन्छ। कलात्मक ढंगले लेखिने अत्यन्तै आकर्षक र मनमोहक यो लिपि ब्राम्ही लिपिकै विकसित रुप हो ।
ब्राम्ही लिपिको विकास क्रममा नेपालमै नौ वटा लिपिको विकास भएको पाइन्छ। जसलाई ‘नेवार (नेपाल) आखर’ भनियो। पछि यी लिपिलाई लिपिको डिजाइन अनुसार नेवार आखर (प्रचलित नेपाल लिपि), रञ्ज आखर, गोलमोल, भुजिंमोल, पाचुमोल, कुंमोल, क्वेंमोल, हिमोल, लितुमोल गरि विभिन्न नाम दिइयो ।
ती मध्ये सबभन्दा कलात्मक लिपिका रुपमा ‘रञ्ज आखर’ (रञ्जना) लाई लिइन्छ। यिनै रञ्जना लिपि समयको माग अनुसार, यतिखेर काठमाडौं महानगरपालिकाका साइनवोर्डहरुमा समेत यो लिपिको प्रयोग हुन थालेको छ।
त्यसको अलावा हिजोआज रञ्जना लिपिको कुताक्षरको पनि व्यापक प्रचलनमा आउन थालेको छ । कुताक्षर भनेको रञ्जना लिपिमा कसैका नाम एक ढिक्का गरेर सवै जोडजोड गरेर एक अक्षरमा लेखिने अर्को मौलिक रचना नै कुताक्षर हो।
रञ्जना लिपिमा कुताक्षरलाई व्यापक प्रचलनमा ल्याउने कार्य नेपाली क्यासेट, सीडी तथा फिल्मी पोष्टरका प्रसिद्ध डिजाइनर एवम् गीतकार अनिल स्थापितवाट विगत अढाई बर्षयता हुदै आएको छ।
डिजाइनर अनिल स्थापितले रञ्जना लिपिमा कुताक्षरको प्रयोग नेपाली गीत क्षेत्रका नक्षत्रका फोटोहरुमा आफैले डिजाइन गरेर हरेक हप्ताको शुक्रवार प्रकाशित गर्ने कार्य गर्दैआएको पनि यो हप्तावाट अढाई बर्ष पुगेको छ।
स्वरसम्राट नारायण गोपालको फोटोमा कुताक्षर लेखेर यो अक्षर लेख्ने शुभारम्भ गर्ने अनिल स्थापितको पछिल्लो प्रस्तुति गायिका लोचन भट्टराईको नाम अंकित फोटो हो।
यस अवधिसम्म 1 सय 20 जति स्रष्टाहरुको रञ्जना लिपिमा कुताक्षर लेखेर नयाँ आयाम कायम गर्न सफल डिजाइनर स्थापितको भाषामा धेरै अक्षर जोडेर एकैअक्षरमा कलाकारका फोटोमा लेखेर नेपाली कला र कलाकारितालाई विश्वमा चिरपरिचित वनाउने चाहना हो।
यो चाहना हुनुमा अरु केही कारण नभइकन कोरोना भाइरसको महामारीको बेला भएको लकडाउन नै हो। लकडाउनको बेला काठमाडौं महानगरपालिकाकी वर्तमान उप-मेयर सुनिता डंगोलले अनलाइन मार्फत रञ्जना लिपि तथा रञ्जना लिपिमा कुताक्षर लेख्ने कलाको प्रशिक्षण दिने कार्य गरेकी थिइन्।
त्यस कलाको प्रशिक्षण अनलाइन मार्फत नै सिकेर प्रयोग गर्दै गएपछि नयाँ प्रयोग गर्ने सोच स्थापितमा आयो । पछि सुनिता डंगोलको पनि गुरु नातामा ज्वाई पर्ने बालाजुका अनिल स्थापितसंगै यस वारेमा थप ज्ञान लिएर यसमा हात चलाएको वताउने डिजाइनर स्थापित रञ्जना लिपिको नयाँ प्रयोग गरेर मौलिक आयाम थपेवापत धेरैको तारिफ पाएको भन्छन्।
यसैमा आफूलाई आत्म गौरब तथा आत्म संतुष्टि मिलेको पनि सुनाउंछन् । पचासको दशकमा हजारौ क्यासेट तथा सीडीका कभरहरुको कभर डिजाइन गरेर जुन रेकर्ड कायम गरेका थिए।
त्यस्तैगरेर, यतिखेर रञ्जना लिपिमा कुताक्षर लेखेर नयाँ आयामका साथमा कीर्तिमान राख्ने मार्गमा स्थापित छन्।