बेलायतमै राजाकोे विरोध हुन थालेको छ । मे ६ मा सम्पन्न राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोह स्थल बाहिर गणतन्त्रवादी एक समूहले ‘राजतन्त्र अन्त्य गरौँ’ भन्ने व्यानरसहित विरोध प्रदर्शन गरेको थियो । विरोध स्थलबाट प्रहरीले छ जनालाई पक्राउ गर्यो।
राजा चाल्र्सले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहमा महङ्गो राजमुकुट लगाए । आर्चविशपले सेन्ट एड्वर्डज क्राउन नामको राजमुकुट राजाको शिरमा राखिदिए ।
जीवनमा एक पटक राज्याभिषेक समारोहमामात्र यो राजमुकुट लगाइन्छ। यो राजमुकुट पहिरिने राजा चाल्र्स सातौँ शासक हुन्।
यसअघि चाल्र्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौँ, अनि एलिजाबेथ द्वितीयाले यो राजमुकुट पहिरिएका थिए। उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन्।
यो ३६० वर्ष पुरानो राजमुकुट २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ। राजमुकुटमा ४४४ वटा रत्न जडिएका छन् ।
जसमा अति मूल्यवान् नीलम, माणिक र पुखराज छन्। यसको मूल्य पाँच अर्ब पाउन्ड पर्छ । विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनमा राखिएको थियो ।
राज्याभिषेक समारोहमा राजा चाल्र्सप्रति निष्ठा व्यक्त गर्दै आर्चविशप सम्मानमा झुकेका थिए । त्यस अवसरमा राजा चाल्र्सले ‘म शपथ खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु’ भनी शपथ लिएका थिए।
समारोहमा रानी क्यामिलालाई पनि आर्चविशपले ‘क्विन मेरिज क्राउन’ नामको राजमुकुट लगाइदिए । राजा चाल्र्सको राज्याभिषेकमा संसारभरिबाट विश्व नेता र राजपरिवारका सदस्यहरूसहित दुई हजारभन्दा बढी अतिथिको सहभागिता थियो।
राज्याभिषेक समारोहको अन्त्यमा राजाहरुले सेन्ट एड्वर्डजको राजमुकुट झिकेर ‘इम्पेरियल स्टेट क्राउन’ नामक अलि हलुका राजमुकुट लगाउँछन्। त्यो राजमुकुट पनि राजकीय समारोहहरुमा मात्र लगाउने चलन छ ।
राजाहरुले राजकीय समारोहमा लगाइराख्ने यो इम्पेरियल स्टेट क्राउन पनि सुनले बनेको हो । जसमा दुई हजार ८६८ वटा हिरा र अन्य रत्नहरु जडिएको छ। यसको मूल्य पनि पाँच अर्ब पाउन्ड पर्छ ।
वेस्टमिन्स्टर एबीमा विम्वहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेक समारोेह भव्य रुपमा सम्पन्न भयो। रानी क्यामिलाका साथ राजा चाल्र्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भीडले स्वागत गरेको थियो ।
राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातिदेखि नै कुरेर बसेका थिए । राज्याभिषेक समारोह वेस्टमिन्स्टर एबीमा करिब दुई घण्टा चलेको थियो । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक र सातजना पूर्वप्रधानमन्त्री समारोहमा सहभागी भए । प्रधानमन्त्री ऋषि सुनकले राज्याभिषेकोको दिन अभूतपूर्व राष्ट्रिय गौरवको क्षण भएको र हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शन भएको बताए।
उनले भने, “कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन । तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो ।”
बेलायतका महारानी एलिजाबेथ द्वितीयाको निधनपछि उनका जेठा छोरा चाल्र्स तृतीय नयाँ राजा बनेका हुन् । बेलायतको इतिहासमा राजगद्दीमा पुग्न चाल्र्सले लामो प्रतीक्षा गर्नुपर्यो । चार वर्षको उमेरमा उत्तराधिकारी घोषित उनी राजा बन्न ७० वर्ष कुर्नु पर्यो ।
बुढ्यौली उमेरमा विश्वकै सम्भ्रान्त र सम्मानित शाही परिवारको विरासत धान्न पुगेका चाल्र्ससामु बेलायती राजसंस्थालाई बलियो र लोकप्रिय बनाउने चुनौती खडा भएको छ ।
एलिजाबेथ २५ वर्ष उमेरमा बेलायतको महारानी बनेकी थिइन् । संसारभरि बेलायतको आधिपत्य हुँदादेखि ब्रेक्जिटका कारण अनिश्चित भविष्यको स्थितिमा आउँदासम्म उनले शाही परिवारको गौरवशाली साख कायम राखेका थिइन् ।
आलोचित विगत रहेका चाल्र्सले त्यो साख कसरी जोगाउलान् भनी अहिले सर्वत्र चासोको विषय बनेको छ । पत्नी डायनासँगको सम्बन्ध विच्छेद र पछि कार दुर्घटनामा डायनाको निधन लगायत कारणले चाल्र्स विवादमा परे । सन् १९९० दशकको मध्यतिर केही आलोचकले उनलाई राजा स्वीकार गर्न नसकिने आवाज उठाए ।
चाल्र्सभन्दा उनका छोरा विलियम्सलाई महारानीको उत्तराधिकारी घोषणा गर्नुपर्ने उनीहरूको माग थियो । सन् १९९१ मा गरिएको मत सर्वेक्षणमा चाल्र्स असल राजा हुनेमा ८२ प्रतिशत जनता विश्वस्त थिए ।
तर सन् १९९६ को सर्वेक्षणले भने ४१ प्रतिशत जनताले मात्र उनलाई राम्रो उत्तराधिकारी माने अर्थात् उनको लोकप्रियता निकै घट्यो।
लोकप्रियता घटेसँगै डायनाको निधनपछि चाल्र्स आफ्नो छवि सुधार्नमा केन्द्रित भए। त्यस निम्ति तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरसँग मिलेर उनले काम गर्न थाले । ब्लेयरसँगको सहकार्यले आफ्नो छवि सुधार्न उनी सफल भए।
पत्नी डायना हुँदाहुुँदै चाल्र्सले क्यामिलासँग प्रेममा फसे । उनको यो प्रेम सम्बन्धलाई धेरैले राम्रो मानेनन् । सन् १९९७ मा डायनाको कार दुर्घटनामा निधनभएपछि सन् २००५ मा उनले क्यामिलासँग विवाह गरे । त्यसपछि भने उनको धुमिल विगत बिस्तारै लयमा फर्कियो।
निजी जीवन लयमा फर्किए पनि राजपरिवारलाई लयमा फर्काउने चुनौती चाल्र्सलाई छ । आफ्ना कान्छा छोरा ह्यारी र बुहारी मेगनको विवाह र शाही उपाधि परित्यागले निम्त्याएको विवाद उनले सुल्झाउनुपर्नेछ । त्यस्तै यौन दुव्र्यवहारको आरोप लागेका भाइ एन्डरुसँगको अप्रिय सम्बन्ध उनले व्यवस्थापन गर्नुपर्नेछ ।
महारानी एलिजाबेथको जस्तो लचिलो र दृढ स्वभाव चाल्र्समा नभएकाले बेलायतको राजतन्त्रले अब सङ्क्रमणकाल बेहोर्ने जानकारहरू बताउँछन् । जीवनभर राजा बन्ने तयारी गरेर बसेका चाल्र्स आफ्नो सोच र विचार अरूमाथि लाद्ने स्वभावका कारण राजतन्त्रमाथि नै सङ्क्रमणकालको स्थिति आउनसक्ने सम्भावना नकार्न सकिँदैन तर उनी आफ्नी आमाबाट सिकेका कुराले आफ्ना विशेषाधिकारको सीमाबाट अघि नबढ्ने अपेक्षा गरिएको छ ।
पृथक पहिचान बनाउने उद्देश्यले चाल्र्सले परोपकारी संस्था गठन गरे । पछिल्ला वर्षमा उनले महारानी एलिजाबेथका तर्फबाट निर्वाह गर्नुपर्ने कामहरू पनि गरे । महारानीका तर्फबाट विदेश भ्रमणदेखि सम्मान अर्पणका काममा उनको सहभागिता रह्यो।
प्रथम विश्वयुद्धको स्मृति दिवसका अवसरमा महारानीले दिवंगत सैनिकहरूको स्मारकमा सम्मान अर्पण गर्ने परम्परा थियो। उनले त्यहाँ महारानीका तर्फबाट आफूले माल्यार्पण गरे ।
स्पष्ट वक्ता चाल्र्स राजनीतिक मुद्दामा टिप्पणी गर्न समेत हिच्किचाउन्नन् । सन् २००५ मा भएको हमलापछि ‘इस्लामोफोबिया’ बढेको बेलायतमा उहाँले धार्मिक सहिष्णुताको वकालत गरे । उनको भूमिकाले सम्भावित धार्मिक द्वन्द्व शान्त पार्न मद्दत गरेको थियो ।
कहिलेकाहीँ कडा विचारका कारण उनी समस्यामा पनि पर्ने गर्छन् । सन् १९८४ मा उनले नेसनल ग्यालरीको विस्तारको खाकामाथि मजाक गरे । उनले मजाक उडाएपछि त्यो योजना नै स्थगित हुन पुग्यो ।
आफ्नो डिजाइन रद्द गर्न चाल्र्स नै लागिपरेको भन्दै एक वास्तुकारले उनलाई संवैधानिक जिम्मेवारी मिचेको आरोप लगाएका थिए। सन् २००६ मा उनी बेलायती पत्रिका ‘द मेल’ विरूद्ध खनिए ।
सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गर्न महारानीको प्रतिनिधि बनेर चाल्र्स हङकङ गएका थिए । चाल्र्सले डायरीमा नोट गरेको वाक्यांशलाई ‘द मेल’ले जस्ताको तस्तै छापेको थियो । आफ्नो गोपनीयता भङ्ग गरेको भन्दै उनले ‘द मेल’विरूद्ध मुद्दा हाले । त्यो मुद्दा उनले जिते पनि ।
संवैधानिक भए पनि शक्तिशाली बेलायती राजतन्त्रको नेतृत्वका रूपमा अब चाल्र्सलाई असावधानीको छुट छैन । सार्वजनिक गर्दा असर पर्ने राय उनले आफैँसँग सुरक्षित राख्नुपर्नेछ ।
आफ्नी आमा एलिजाबेथबाटै उहाँले विवेकी बन्न सिक्नुपर्नेछ । युरोपेली सङ्घबाट बाहिरिने बेलायतको निर्णयमा पनि शाही पर्यवेक्षकहरूले महारानी एलिजाबेथको धारणा बुझ्न सकेका थिएनन्।
चाल्र्स बेलायतका मात्र होइन १४ वटा कमनवेल्थ देशका प्रमुख बनेका छन् । हालैको सर्वेक्षणले उनलाई त्यति धेरै लोकप्रिय भने देखाएको छैन। शाही परिवारका सदस्यभित्र छनोट गर्दा उहाँ ११ प्रतिशतको छनोटमा परेका छन् ।
चाल्र्सलाई कमैले मन पराए पनि राजतन्त्र भने धेरैले मन पराएका छन् ।
सर्वेक्षणअनुसार ४३ प्रतिशत जनताले राजतन्त्रविना मुलुकको भविष्य बिग्रिने प्रतिक्रिया दिएका छन् । त्यस्तै १९ प्रतिशतले राजतन्त्र अन्त्य हुनुपर्ने बताएका छन् भने ३१ प्रतिशतले राजतन्त्र वा नयाँ व्यवस्था जे आउँदा पनि कुनै असर नपर्ने राय दिएका छन्।
राजतन्त्रको भविष्य सुरक्षित देखिएको बेलायतमा त्यसतर्फ जनतालाई अझै आकर्षित गर्न चाल्र्सले थप काम गर्नुपर्ने देखिन्छ। सङ्कट बेला बेलायती जनता एलिजाबेथलाई सम्झन्थे ।
अब चाल्र्स पनि सङ्कटमा स्मरण गर्न योग्य बन्नुपर्छ। केही वर्षयता चाल्र्सले आफ्नो कद बढाएका छन् । उनी असल शासन गर्नेमा निकै आत्मविश्वासी देखिएका छन्।
चाल्र्सले बेलायतको स्थिरतालाई निरन्तरता दिँदै त्यहाँको बहुसांस्कृतिक समाजलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । कतिपयले उनलाई बेलायतको भावी पुस्ता निम्ति काम गर्ने राजाका रूपमा देख्न पाइने विश्वास गरेका छन्।
विश्वका एजेन्डामा चाख राख्ने र आवश्यकताअनुसार सुझाव दिनसक्ने नेतृत्वका रूपमा पनि उनलाई हेरिएको छ । जलवायु परिवर्तनबारे ग्लास्गोमा उनको धारणालाई सबैले चाखपूर्वक लिएका थिए ।
अमेरिका राष्ट्रपति जोए बाइडेनले उनका कुराप्रति सहमति जनाएका थिए । आवश्यकताअनुसार सबै विषयमा उनले सही सुझाव दिनसक्ने खुबी राख्छन्।
९६ वर्षको उमेरमा सन् २०२२ को सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएपछि सेप्टेम्बर १० मा औपचारिकरुपमा चाल्र्स तृतीया राजा घोषित भए । बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उनी ४०औँ राजा बने।
औपचारिक रुपमा राजा घोषित भएपछि राष्ट्रका नाममा उहाँले पहिलो मार्मिक सम्बोधन गरे । उनले आमाको पदचिन्हमा देश र जनताको सेवा गर्ने प्रतीज्ञा गर्दै आफ्नो संवैधानिक सीमाभन्दा बाहिर नजाने प्रण गरेका थिए ।