काठमाडौं। कोरोना कहरमा फुटपाथ र ठेलागाडामा गरिने व्यापार व्यवसायलाई रोक लगाउनुपर्ने काठमाडौं महानगरपालिकाको ठहर रहेको छ।
यसप्रकारको व्यवसायलाई प्रतिवन्ध लगाउन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गरेको हो।
काठमाडौं महानगरपालिकाको टीम नै लिएर उपमेयर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी दाहाललाई भेटेर काठमार्डौमहानगरपालिकाले फुटपाथ र ठेलागाडा हटाउने नीतिगत निर्णय गरेर अघि बढिसकेको भन्दै निषेधाज्ञा अवधिमा समेत त्यस्ता पसलहरू सञ्चालन हुन नपाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएकी हुन।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले २४ भदौमा जारी गरेको आदेशमा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ’ भनिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर श्रेष्ठसहित वडाध्यक्षहरूले निषेधाज्ञामा प्रशासनले जारी गरेको आदेश महानगरकोे नीतिविपरीत रहेको भन्दै सच्याउन आग्रह गरेका छन् ।
‘शहरी सुन्दरतालाई ध्यान दिएर महानगरले त्यस्तो व्यवसाय बन्द गराएको छ, अहिले त झन् संक्रमण पनि फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट ट्रेसिङ गर्न कठिन भइरहेको छ,’ उपमेयर श्रेष्ठले भनिन्, ‘यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ ।’
ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी दाहालले प्रशासनले जारी गरेको आदेश शहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकूल गराउने उद्देश्यले जारी नगरिएको स्पष्ट पारे।
उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा छलफल गरेर निर्णय लिने बताए । प्रशासनले फुटपाथ पसल र ठेला सञ्चालन गर्न पाइने भने पनि कतिपय वडाहरूले भने सूचना निकालेरै त्यस्तो सेवा रोकिसकेका छन्। वडाध्यक्षहरूले प्रशासन र स्थानीय सरकार सँगसँगै हिँड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७ २२:४५