काठमाडौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा ३३ प्रतिशत स्थान युवालाई दिइने बताएको छ।
अनेरास्ववियुको सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताएको हो।
“पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो”, उनले भने, “अब समाज बदल्ने युवाले हो, नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छौं भन्ने सन्देश युवाले दिनुपर्दछ।”
उनले यस वर्षलाई पार्टीले अधिवेशनको वर्ष बनाउन खोजेको समेत बताए । अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उनको भनाइ थियो ।
उनले अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता नगर्नसमेत आग्रह गरे । “अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता गर्नु पर्दैन । गाउँ गइहाल्ने, समाज बदल्ने कुराको नेतृत्व गर्ने हो”, उनले भने।
महासचिव पोखरेलले सहरिया मध्यम वर्गलाई पार्टीले सामजिक एजेण्डाबाट जोड्न नसकेको बताए । “पार्टीमा समस्या देखिएपछि सारा ध्यान हाम्रो पार्टीको रक्षा गर्ने कुरामा केन्द्रित भयो । पार्टी रक्षा गर्न ठूला–ठूला प्रदर्शन गर्याे, जनताका एजेण्डामा आधारित भएर जनपरिचान हुन पाएनौँ, त्यसैले सहरिया मध्ययम वर्गको टुट्न गयो ।”
जनसङ्गठनका नेता आफ्नो समुदायको भरोसायोग्य नेता बन्नुपर्ने उनको भनाइ थियो । “आजभोलि जनसङ्गठनका नेता पार्टी सङ्गठनमा बढी र आफ्ना गतिविधिमा कम देखिने गरेका छन्”, उनले भने, “त्यसरी जनसङ्गठनको नेता बन्न सकिन्न । अनेरास्ववियु पार्टी कार्यालयमा नभई विश्वविद्यालय, क्याम्पस र विद्यालयमा देखिनुपर्याे।”
कार्यक्रममा अखिलका अध्यक्ष समिक वडालले राजनीतिक मुद्दामा अखिल केन्द्रित भइरहेको बताए । तीन दिनसम्म सञ्चालन हुने बैठकले शैक्षिक एजेण्डा तय गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० २१:५६