काठमाडौं। नेपाली समकालिन साहित्यमा उर्वर साहित्यकार मात्र नभइकन उत्कृष्ट गजलकारको रुपमा ख्यातिप्राप्त अग्रज स्रष्टा व्याकुल पाठकले जीवनमा नचिताएकै सम्मान तथा पुरस्कार पाएका छन्।
पूर्वी नेपालको विराटनगरको विराटचोकमा कवि कविराज पोखरेल स्मृति साहित्य प्रतिष्ठानवाट आयोजित विशेष समारोहमा अग्रज स्रष्टा पाठक पुरस्कृत बनेका हुन्।
पचास हजार १ सय ११ नगद राशि सहितको पुरस्कारवाट सम्मानित स्रष्टा पाठकका मन छुने गजलवाट लामो समयदेखि जीवनकालमा चुपचाप मनपराउँदै आएका कवि कविराज पोखरेल निधन हुनुअघि ‘म नरहे पनि उल्लेखित राशिको पुरस्कार गजलकार व्याकुल पाठकलाई दिनु’ भनेर परिवारबीच आफ्नो इच्छा व्यक्त गरेको कारण परिवारले कविको स्मृति दिवसको अवसरमा कविको अन्तिम इच्छा अनुरूप उक्त पुरस्कार समर्पण गरेको परिवारले जनाएको छ।
‘कवि कविराज परिवारबीच र साहित्यकारहरूको भेलामा पनि व्याकुल पाठकको गजल गुनगुनाउने गर्नुहुन्थ्यो र उत्कृष्ट गजल यस्तो हुन्छ भनेर उदाहरण दिने गर्नुहुन्थ्यो’, कविराजका भाइ भेषराज पोखरेलले सम्मान कार्यक्रममा खुलासा गरेका थिए।
चिताउँदै नचिताएको उक्त पुरस्कार पाउँदा आफ्नो गजल साहित्य जीवन सफल भएको अनुभव भएको प्रतिक्रिया स्रष्टा पाठकले दिएका छन्। पाठक भन्छन्, ‘एकजना स्थापित साहित्यकार नै मेरो रचनाबाट यो हदसम्म प्रभावित भएर अन्तिम इच्छा नै जाहेर गरेर जानु दुर्लभ घटना नै हो, यस्तो घटना भविष्यमा दोहोरिन गाह्रो छ ।’
गजलकार पाठक तीन दशकदेखि नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा समर्पित स्रष्टा र हट नेपाल मासिकका प्रधान सम्पादक हुन्।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० २२:१८