काठमाडौ । नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।
बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ।
केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो।
कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ ।
यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ।
राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५।३०, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२।२६, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४।७३ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५।५७ नगद जरिवाना गरेको हो ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक ३ हजार ९४८।५३, दोस्रो पटक ६३ हजार ७८२।७८ र तेस्रो पटक १र १ लाख ८ हजार ७७०।२१ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तैगरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्याएको भन्दै २ हजार ७०१।०३ जरिवाना गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १७:२४