काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारमा दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृति गरेको जानकारी दिएको हो । “आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ”, उनले भने ।
अर्थमन्त्री डा प्रकाशशरण महतले अपराह्न ४ बजेको संसद् बैठकमा बजेट पेस गरेका हुन् । त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी जेठ १७ देखि हुन लागेको छिमेकी मुलुक भारत भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित पाँच मन्त्रीको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्रीले जानकारी दिए। उनले भने, “प्रधानमन्त्री नेतृत्वको टोलीको भारत भ्रमणसम्बन्धी मन्त्रिपरिषद्ले आज औपचारिकरुपमा स्वीकृत गरेको छ ।”
हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:०६