काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताएको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको अहिले सङ्ख्यात्मक रूपमा मात्र परिवर्तन भएकोले गुणात्मक परिवर्तन आवश्यक रहेको बताएको हो।
गुणात्मक परिवर्तनका लागि अभियान सञ्चालन गर्नुपर्ने भनाइ राखेका हुन् । “यथार्थमा अहिलेसम्म नेपालको परिवर्तन केही मात्रामा गुणात्मक नभए पनि सङ्ख्यात्मक परिवर्तन मात्रात्मक रूपमा मात्र भएको छ,” अध्यक्ष ओलीले भने, “मुलुकमा शासक फेरिएका छन् । प्रणाली अलिकति फेरिए जस्तो भएको छ । खासमा प्रणाली उस्तै उस्तै देखिएको छ।”
मुलुकलाई सकारात्मक सोचसहित परिवर्तनतिर लैजान खोजे पनि बिथोलिएको भनाइ राख्दै जनसाहित्यबाट अन्धविश्वास, कुरीति, अन्याय, असत्य, भेद्भाव र शोषण भत्काउन शब्दवाणमा गति दिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।
सङ्गीत कला, साहित्य भनेको बेग्लै संवेदना र भाव रहने भन्दै यसले बेग्लै खालको असर पार्ने बताउँदै नेपाल धर्ती ज्ञान, सभ्यता, सङ्गीत, कला साहित्य शिक्षाको सुरुआत भएको उनको भनाइ थियो ।
अध्यक्ष ओलील मुलुक राजनीतिकरूपमा अस्थिर र अन्योल रहेको बेला सामाजिकरूपमा अगाडि बढ्ने ठाउँ नभएको स्पष्ट पारेका थिए।
नेपाली समाजको सभ्यता र संस्कृति नै धरापमा परेको भन्दै पूर्वजले हजार वर्ष लगाएर मूल्यमान्यता विकास गरेर स्थापित गरेको उनको भनाइ थियो।
उनले अर्थतन्त्र बिग्रियो भने केही समयमा सुध्रिने भए पनि समाज बिग्रियो भने सुध्रन धेरै समय लाग्ने बताएका थिए।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १८:४५