ललितपुर । मल्लकालिन समयमा नेपाली संगीत उर्वर थियो। त्यो उर्वर संगीतलाई प्रचण्ड गर्मीमा पानी पार्ने रागका रुपमा पनि प्रयोग गर्ने गरिन्थ्यो।
मौसम परिवर्तन मात्र नभइकन पानी पार्ने तथा आगो बाल्ने रागका रुपमा संगीतलाई प्रयोग हुदै आएको मल्लकालिन समयमा चन्द्रमान अनुसार राष्ट्रिय संगीत दिवस मनाउने गरिएको तथ्यलाई पाटनका नृत्य गुरु तथा संगीतानुरागी संजय शर्मा राजोपाध्यायले औल्याएका छन्।
राजोपाध्यायका अनुसार, जेष्ठ पूर्णिमाका दिन राष्ट्रिय संगीत दिवस मनाउने गरिएको थियो। मल्लकाल पश्चात जेष्ठ पूर्णिमाका दिन राष्ट्रिय संगीत दिवस मनाउन छाडेको कार्यलाई यो बर्षवाट निरन्तरता दिने भएको छ।
इन्दिरा संगीत महाविद्यालय, शास्त्रीय संगीत समाज, नृत्य निर्देशक संघ ललितपुर र यलमाया केन्द्रले संयुक्त रुपमा लामो कालखण्ड पश्चात पहिलो पल्ट राष्ट्रिय संगीत दिवस मनाउन लागेको हो।
२०८० जेष्ठ २१ गते आइतबार जेष्ठ पूर्णिमा परेको कारण यही दिन राष्ट्रिय संगीत दिवस मनाउने निर्णय भएको राजोपाध्यायले बताए।
यो पर्वको रुपमा ललितपुरको मंगलबजारमा करिब ४०० बर्षदेखि सिद्धीनरहिं मल्लले यो दिन बर्षकै लामो दिन भएकोले भोलि पल्टदेखि माौसम परिवर्तन हुन्छ र गर्मी पनि बढ्ने भएकोले त्यसदिन पानी पार्ने गीत मेघमल्हार राग गाएर आफूले रचेका ३१ वटा गीत गाएर दिन बिताउने गरेको कथन छ।
त्यस्तै, श्रीनिवास मल्लले पनि यो कार्यलाई निरन्तरता दिएर आफूले पनि संगीत सुन्ने गरेको प्रमाण दिएको पाइएको पनि राजोपाध्यायको भनाई छ।
त्यस दिन श्रीनिवास मल्लको सिंहासन कृष्ण मन्दिरको परिसरमा प्रदर्शनका लागि राख्ने गरिन्छ तर, हामीले त्यति वास्ता नगरेको बरु, १९८२ बाट फ्रान्स सुरु गरेको अन्तर्राष्ट्रिय संगीत दिवसलाई भने भब्य रुपमा मनाउने गरेको गुनासो पनि राजोपाध्यायको छ।
यस बर्ष देखि हामीले पनि इतिहास बोकेको दिनलाई किन राष्ट्रिय संगीत दिवस रुपमा नमनाउने भनेर ढोकैमा क्याफे पाटनढोकामा इन्दिरा संगीत महाविद्यालय, शास्त्रीय संगीत समाज, नृत्य निर्देशक संघ ललितपुर र यलमाया केन्द्रले कार्यक्रमको आयोजना गरेको जानकारी पनि राजोपाध्यायले दिएका छन्।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० २२:२४