समाज र सामाजिक संरचनामा आधारित कला र कलाकारितासँग यसको नाता गाँसिएको हुन्छ। कलाकारिता आफै पनि कला हो। यसैले हामीले प्रयोगमा कला र कलाकारितालाई एकै ठाउँमा जोडेर सम्बोधन गर्ने पनि गर्दछौँ।
कला र कलाकारिताको भूमिकाले समाजको रूपान्तरण गर्ने प्रक्रियामा निरन्तर ठूलो सहयोग गरेको हुन्छ । समाज रूपान्तरण गर्ने कार्यमा शिक्षाको जत्तिकै कला र कलाकारिताको पनि ठूलो भूमिका रहन्छ ।
त्यही शैक्षिक भूमिकाको पृष्ठभूमिमा बसेर कला र कलाकारिताले आफ्नो प्रभाव विस्तार गरिरहेको हुन्छ । कला र कलाकारिताले मानिसमा चेतनाको अभिवृद्धि गर्ने र मानव जीवनलाई सुन्दर एवम् सुसंस्कृत बनाउने काम गर्ने गर्दछ।
समाजको गतिशीलता र यसको प्रवाहसँगै कला र कलाकारिताले आफ्नो प्रवाहलाई पनि मानव जातिको जीवन पद्धतिमा गाँसिएर मानिसलाई सभ्यता र सिर्जनाका विधामा परिस्कृत र परिमार्जित गरिरहेको हुन्छ। मानवोचित सम्बन्धलाई अझ प्रगाढ र गतिशील पार्दै अगाडि बढाउँछ ।
जतिजति मानव सभ्यताले उँचाइ थप्दै अगाडि बढ्दछ त्यत्तिकै मात्रामा कला र कलाकारिताले पनि आफूलाई परिमार्जित गर्दै मानवजातिका विभिन्न भाषा, संस्कृति,सांस्कृतिक परम्परा र पहिचानलाई थप सौन्दर्य प्रदान गर्दै जान्छ।
समाजको वर्तमानको यथार्थ स्वरूप कला र कलाकारिता भएको कला र कलाकारिता समाजको ऐना हो भनेका छन् । जसको माध्यमवाट वर्तमान समाजको यथार्थ स्वरूप भविष्यमा इतिहास बन्दै जान्छ। क्रमशः यही इतिहास समाज रूपान्तरणको प्रेरक शक्ति बन्दछ।
मानव समाजलाई पछौटेपन र अज्ञानताबाट मुक्त पार्दै शोषण, दमन र अन्यायको विरुद्ध संघर्ष गर्ने चेतना प्रदान गर्ने काममा पनि कला र कलाकारिताको अहम् भूमिका हुन्छ ।
जसरी शिक्षाले ज्ञान प्रदान गर्छ त्यसरी नै कला र साहित्यले मानवजातिलाई सदैव अग्रगतिमा उसका आर्थिक र सामाजिक अवस्थालाई अगाडि बढाउन उत्प्रेरित गरिरहेको हुन्छ।
यसरी मानव जीवन सुसभ्य र सुसंस्कृत बन्दै मानव जीवनका हरेक पक्षमा र हरेक पल मा उसको कलात्मक सिर्जनामा सहयोगी बनिरहेको हुन्छ। यही कला र कलाकारिताको माध्यमबाट स्रष्टाहरूले मानव समाजलाई रूपान्तरण गर्ने कार्य गरिरहेका हुन्छन्।
यस्तै स्रष्टाहरूको वर्ग नै समाज रूपान्तरणको अगुवा वर्ग हो जसलाई स्रष्टा वा कलाकार पनि भन्ने गरिन्छ । देश र ब्यक्तिको पहिचानको पर्याय बनेको कला र संस्कृतिमा परिवारको साथ र सहयोग मात्र नभइकन समाज, अनि देशकै साथ र सहयोग आवश्यक छ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० ०८:५३