भारत विश्वको एकल व्यवस्थापन अन्तर्गत दोस्रो ठूलो रेल सञ्जाल भएको मुलुक हो । रेल सेवाबाट भारतको दैनिकी सहज भएको छ । तर रेल सेवा पूर्णरुपले सुरक्षित हुन सकेको छैन । सुरक्षित रेल यात्राका लागि विभिन्न प्रयास जारी छ तैपनि बारम्बार हुने गरेका रेल दुर्घटना चिन्ताको विषय बनेको छ ।
पछिल्लो पटक जुन २ को साँझ पूर्वी राज्य ओडिसाको बालासोर जिल्लामा यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भयो । यो दुर्घटनामा २८८ जनाको मृत्यु भयो भने आठ सयभन्दा बढी घाइते भए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी घटनास्थल गएर रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइने बताए। उनले दुर्घटनाबाट आफू अत्यन्त दुःखी भएको भन्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे । मोदीले अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि भेटे र सरकारले उनीहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो । दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि भारतका एक जना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन् ।
दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण खालको अनुसन्धान सुरु गरिएको छ । अनुसन्धनको प्रतिवेदन आउन बाँकी छ ।
भारतमा यसअघि सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । त्यसबेला बिहार राज्यमा आँधीका कारण एउटा रेल नदीमा खस्दा आठ सय जनाको मृत्यु भएको थियो ।
सन् २०१७ को अगस्त १९ मा उत्तर प्रदेशको मुजफ्फर नगरको खतौली नजिक कलिङ्गा–उत्कल एक्सप्रेसको १४ डिब्बा लिकबाट बाहिर खस्दा २३ जनाको मृत्यु भएको थियो ।
सोही वर्षको जनवरी २२ मा आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा हिराखण्ड एक्सप्रेसका आठवटा डिब्बा लिकबाट बाहिर खस्दा ३९ जनाको मृत्यु भयो।
सन् २०१६ को नोभेम्बर २० मा कानपुर नजिकै पुख्रायनमा पटना–इन्दौर एक्सप्रेसका १४ डिब्बा लिकबाट खस्दा १५० जनाको मृत्यु भयो।
सन् २०१५ को २० मार्चमा देहरादुनबाट वाराणसी जाँदै गरेको जनता एक्सप्रेस रेल दुर्घटना हुँदा ३४ जनाको मृत्यु भयो।
सन् २०१४ मा नागोठाने र रोहा स्टेसनबिच दिवा सावन्तवाडी यात्रुवाहक रेल दुर्घटना हुँदा २० जनाको मृत्यु भयो भने एक सय जना घाइते भए ।
सन् २०१३ को डिसेम्बर २८ मा बैङ्लोर–नान्देड एक्सप्रेस रेलमा आगलागी हुँदा २६ जनाको मृत्यु भयो भने सोही वर्ष अगस्ट १९ मा बिहारको खगरिया जिल्लामा राज्यरानी एक्सप्रेसको ठक्करबाट २८ जनाको मृत्यु भयो ।
सन् २०१२ मा भारतमा १४ वटा रेल दुर्घटना भए। जुलाई ३० मा नेल्लोर नजिकै दिल्ली–चेन्नई–तमिलनाडु एक्सप्रेसको रेलमा आगलागी हुँदा ३० जनाको मृत्यु भयो ।
सन् २०११ को जुलाई ७ मा उत्तर प्रदेशमा रेल र बस ठोक्किँदा ३८ जनाको मृत्यु भयो ।
सन् २०१० को सेप्टेम्बर २० मा ग्वालियर इन्टरसिटी एक्सप्रेस मध्य प्रदेशको शिवपुरीमा मालवाहक रेलसँग ठोक्किँदा ३३ जनाको मृत्यु भयो भने १६० जना घाइते भए ।
सोही वर्षको जुलाई १९ मा उत्तर बङ्ग एक्सप्रेस र वनञ्चल एक्सप्रेस पश्चिम बङ्गालमा ठोक्किँदा ६२ जनाको मृत्यु भयो भने १५० जना घाइते भए। सोही वर्षको मे २८ मा पश्चिम बङ्गालमा ज्ञानेश्वरी एक्सप्रेस रेल दुर्घटना हुँदा १७० जनाको मृत्यु भयो।
सन् २००९ को अक्टोबर २१ मा गोवा एक्सप्रेसको इन्जिन उत्तर प्रदेशको मथुरा नजिकै मेवाड एक्सप्रेसको अन्तिम डिब्बासँग ठोक्किँदा २२ जनाको मृत्यु भयो।
सोही वर्षको फेब्रुअरी १४ मा हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेस ओडिसाको जाजपुर रेलवे स्टेसन नजिकै दुर्घटना हुँदा १६ जनाको मृत्यु भयो।
सन् २००८ मा सिकन्दराबादबाट काकिनाडा जाँदै गरेको गौतमी एक्सप्रेसमा आगलागी हुँदा ३२ जनाको मृत्यु भयो ।
सन् २००५ को अप्रिल २१ मा गुजरातको वडोदरा नजिक साबरमती एक्सप्रेस र मालबाहक रेल ठोक्किँदा १७ जनाको मृत्यु भयो। सोही वर्ष फेब्रुअरीमा महाराष्ट्रमा रेल र ट्याक्टर ठोक्किँदा ५० जनाको मृत्यु भयो ।
सन् २००३ को जुनमा महाराष्ट्रमा रेल दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो सोही वर्षको जुलाई २ मामा आन्ध्र प्रदेशको हैदरावादबाट १२० किलोमिटर टाढा वारङ्गलको ओभरब्रिज मुनि गोलकोन्डा एक्सप्रेस दुर्घटना हुँदा २१ जनाको मृत्यु भयो । सोही वर्षको मे १५ मा पञ्जाबको लुधियाना नजिकै फ्रन्टियर रेलमा आगलागी हुँदा ३८ जनाको मृत्यु भयो ।
यसैगरी सन् २००२ को सेप्टेम्बर ९ मा हावडाबाट नयाँ दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस दुर्घटना हुँदा १२० जनाको मृत्यु भयो।
सन् २००१ को जुन २२ मा मङ्गलोर–चेन्नई रेल केरलाको कादलुन्डी नदीमा खस्दा ५९ जनाको मृत्यु भएको थियो भने सोही वर्ष मे ३१ मा उत्तर प्रदेशको रेलवे क्रसिङमा रोकिएको बससँग रेल ठोक्किँदा ३१ जनाको मृत्यु भयो ।
सन् २००० को डिसेम्बर २ मा कोलकाताबाट अमृतसर जाँदै गरेको हावडा रेल र मालबाहक रेल ठोक्किँदा ४४ जनाको मृत्यु भयो भने १४० जना घाइते भए।
सन् १९९९ को अगस्ट ३ मा दिल्ली जाँदै गरेको ब्रह्मपुत्र रेल पश्चिम बङ्गालको गासलमा अवध–असम एक्सप्रेससँग ठोक्किँदा २८५ जनाको मृत्यु भयो भने ३१२ जना घाइते भए ।
सन् १९९८ को नोभेम्बर २६ मा पञ्जाबको खन्नामा फ्रन्टियर रेल सियालदह एक्सप्रेससँग ठोक्किँदा १०८ जनाको मृत्यु भयो भने १२० जना घाइते भए।
सन् १९९७ को सेप्टेम्बर १४ मा अहमदावाद–हावडा एक्सप्रेस छत्तीसगढको विलासपुरस्थित नदीमा खस्दा ८१ जनाको मृत्यु भयो भने एक सय जना घाइते भए।
सन् १९९६ को अप्रिल १८ मा दक्षिण केरलामा एर्नाकुलम एक्सप्रेस बससँग ठोक्किँदा ३५ जनाको मृत्यु भयो भने ५० जना घाइते भए।
सन् १९९५ को अगस्ट २० मा नयाँ दिल्ली जाँदै गरेको पुरुषोत्तम एक्सप्रेस उत्तर प्रदेशको फिरोजाबादमा कालिन्दी एक्सप्रेससँग ठोक्किँदा २५० जनाको मृत्यु भयो भने २५० जना घाइते भए ।
सन् १९९३ को डिसेम्बर २१ मा कोटा–बिना एक्सप्रेस राजस्थानमा मालबाहक रेलसँग ठोक्किँदा ७१ जनाको मृत्यु भयो ।
सन् १९९० को अप्रिल १६ मा पटना नजिकै रेलमा आगलागी हुँदा ७० जनाको मृत्यु भयो ।
सन् १९८५ को फेब्रुअरी २३ मा राजनन्द गाउँमा रेलमा आगलागी हुँदा ५० जनाको मृत्यु भयो ।
सन् १९८१ को जुन ६ मा बिहारमा आँधीका कारण रेल नदीमा खस्यो र त्यो दुर्घटनामा ८ सय जनाको मृत्यु भयो भने एक हजार भन्दा बढी घाइते भएका थिए।
यी घटनाक्रमलाई हेर्दा धेरै दुर्घटना एकआपसमा ठोक्किएर हुने गरेको पाइएको छ । रेलसेवालाई सुरक्षित बनाउन धेरै मेहनत गर्नुपर्ने अवस्था छ।