काठमाडौ । प्रिन्स दाहाल र रसिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९ औ एशियन गेम्सकालागि छनोट भएका छन्।
नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका छन् ।
बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् । चारै खेलाडीको एशियन गेम्सको यात्रा पहिलो हो।
एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाई हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ।
कोरियाको इन्चोनमाभएको १७औ र इन्डोनेसियामा भएको १८ औ एशियन गेम्समा हामी पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनलसम्म पुग्दै पाँचौं स्थान हासिल गर्न सफल भएका छौ ।
तर अहिले खेलाडीको स्तर राम्रो भए तापनि खेलाडीको कोटा कम भएकोले हामी टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौ-अध्यक्ष रामजीवहादुर श्रेष्ठले बताए।
खेलाडीको स्तरलाई हेर्दा प्रिन्स जुनियरतर्फ विश्व नम्बर एक रहिसकेका छन् । यस्तै रसिला जुनियर युगलतर्फ विश्व छैटौं स्थानमा रहिसकेको संघका सचिव नविनविक्रम शाहले जानकारी गराए ।
छनोट हुन सफल खेलाडीहरुको मनोवल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिए ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० २०:१७