काठमाडौ । नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक (SACC) चेस च्याम्पियनसिप २०२३ भोलि जेष्ठ ३० गतेबाट शुरु हुने भएको छ।
असार ४ गतेसम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पूर्ण आवासीय सुविधा सहित हुने प्रतियोगितामा महिला र पुरुष गरि २ स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो ।
दक्षिण एशियाका प्रत्येक राष्ट्रबाट १ महिला र १ पुरुष खेलाडी, डिफेन्डिङ्ग च्याम्पियन १ महिला र १ पुरुष तथा आयोजक नेपालबाट थप १ महिला र १ पुरुष खेलाडी गरि १०/१० खेलाडीहरुले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन्।
नेपालबाट पुरुषतर्फ बर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामा तथा महिला तर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङ्गले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भए पश्चात साउथ एशियन चेस काउन्सीलका अध्यक्षको परामर्शमा थप एक/एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको अध्यक्ष बिदुर गौतमले पत्रकार सम्मेलनमा जानकारी थिए।
पहिलो संस्करणका पुरुषतर्फका विजेता भारतीय ईन्टरनेशनल मास्टर नुवइरशशाह सेख र महिला तर्फकी विजेता बंगलादेशकी वुमन ईन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन्।
यस्तैगरी ग्रान्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
अनुमानित ४० लाखको बजेट रहेको च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरु प्रथमले नगद १ लाख ५० हजार, दोश्रोले १ लाख र तेश्रोले नगद ५० हजार प्राप्त गर्नेछन् भने महिलातर्फका विजयी खेलाडीले नगद १ लाख, दोश्रोले ६० हजार र तेश्रोले नगद ४० हजार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १९:२२