काठमाडौं। काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्तरिय आँखा उपचार सेवाका लागि दृष्टि आइ केयर सिस्टमसँग सहकार्य गरेको छ।
अस्पतालमा आयोजित औपचारिक कार्यक्रममा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरी सेवा विस्तार तथा स्तरोन्नतीका लागि तयार सम्झौता पत्रमा हस्ताक्षार गरेसँगै सेवा शुरु भएको हो।
सम्झौता अनुसार २०८० असार १ गतेदेखि दृष्टि आइ केयर सिस्टमका चिकित्सकहरु सहितको टोलिले सेवारम्भ समेत गरेको अस्पतालले जनाएको छ। सेवा विहान ९ बजे देखि साँझ ६ बजेसम्म उपलब्ध हुने भनिएको छ।
ॐ अस्पतालमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा रमेश प्रधान, जनरल अप्थाल्मोलोजिष्ट डा. शिवा उपाध्याय, पेडियाट्रिक अप्थाल्मोलोजिष्ट डा.पारस पञ्जियार लगायतका विशेषज्ञ सहित हाल उपलब्ध रहेको छ ।
आँखा उपचार सेवामा गुणस्तरीय आँखा स्वास्थ्यमा निजी क्षेत्रको अग्रणि सेवा प्रदायक दृष्टि आइ केयर सिस्टमसँगको सहकार्यपछि रेटिना विशेषज्ञ डा.प्रताप कार्की, न्यूरो अप्थाल्मोलोजिष्ट डा. सन्जिता सिटौला, युभिआइटिस विशेषज्ञ डा. रञ्जु खरेल सिटौला, एन्टेरियर सेगमेन्ट तथा मोतिविन्दु विशेषज्ञ डा.सुमित महर्जन र जनरल अप्थाल्मोलोजिष्ट डा. अर्चना बुढाथोकी लगायतका विशेषज्ञ चिकित्सक समेत सामेल रहेको छ ।
सम्झौता कार्यक्रममा शुभकामना दिँदै ॐ हस्पिटल संचालक समितका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले नेपालमा निजी क्षेत्रवाट स्वास्थ्य उपचारमा तीन दशकदेखि अग्रणि भूमिका निभाउँदै आएको ॐ हस्पिटलको सुलभ मूल्यमा स्तरिय उपचार सेवा प्रदान गर्दै आएको वताएका थिए ।
ॐ हस्पिटलले सबै किसिमका उपचार सेवाकासाथमा आँखा उपचार सेवा पनि शुरु गरेको स्मरण गराउँर्दै समय सापेक्ष स्तरोन्नति गर्ने योजना अनुरुप दृष्टिको सफलता र विशेषज्ञ चिकित्सकहरु सहितको अभियानमा सहकार्य गरेको डा. श्रेष्ठले जिकीर गरे।
अध्यक्ष डा.श्रेष्ठले दृष्टिसँगको सहकार्यमा ॐ हस्पिटलको आँखा उपचारले नयाँ उचाइमा पुग्ने कुरामा आफु विश्वस्त रहेको समेत बताए।
सम्झौता पछि सम्बोधन गर्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महतले अस्पतालको उपचार सेवाको स्तरबृद्धि गर्ने योजना अन्तर्गत सहकार्य सम्झौता गरिएको र यसले ॐ अस्पतालको आँखा उपचार सेवालाई थप प्रतिस्पर्धी र सुलभ बनाउने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: शनिबार, असार २, २०८० २०:४१